काठमाडाैं– फ्रान्सेली अदालतले पूर्वराष्ट्रपति निकोलस सार्कोजीलाई भ्रष्टाचार प्रकरणमा तीन वर्षको जेल सजाय सुनाइएको छ। फ्रान्सको आधुनिक इतिहासमा जेल सजाय पाउने ६६ वर्षीय सार्कोजी पहिलो व्यक्ति हुन्।
सन् २००७ देखि सन् २०१२ सम्म राष्ट्रपति भएका सार्कोजीले सन् २०१४ मा आफूविरुद्ध चलिरहेको एउटा आर्थिक हिनामिनाबारेको अनुसन्धानका क्रममा न्यायाधिशबाट सुचनाहरु गैरकानूनी रुपमा प्राप्त गर्न प्रयास गरेकोमा दोषी ठहरिएका हुन्।
तीन वर्षमध्ये उनलाई दुई वर्षको सजाय निलम्बन गरिएको छ भने एक वर्ष पनि उनले जेलबाहिर बसेर कटाउन सक्नेछन्।
तर घरमै बसे जीपीएससहितको विद्युतीय ब्रासलेट लगाएर सजाय पूरा गर्नुपर्ने छ।
सार्कोजीले आफूले कुनै गल्ती नगरेको बताउँदै आएका छन्। यता सुपरमोडलबाट गायिका बनेकी उनकी पत्नीले पनि इन्स्टाग्राममा तस्वीर राख्दै फैसलालाई अन्यायपूर्ण भएको बताएकी छिन्। सार्कोजीका वकिलहरूले फैसलाविरूद्ध उपल्लो अदालतमा पुनरावलोकन गर्ने बताएका छन्।
अदालतको फैसलाले सार्कोजीलाई भविष्यमा सार्वजनिक पदका लागि अयोग्य भने ठहर्याउने छैन। यद्यपि सार्वजनिक जीवनमा आउने उनको सपनालाई धक्का पुर्याउने राजनीतिक पण्डितहरुले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।