काठमाडाैं– नाइजेरियाको उत्तरी क्षेत्रमा रहेको निजी विद्यालयबाट अपहरणमा परेका सबै छात्राहरु मुक्त भएका छन्। जाम्फारा राज्यका गभर्नर डा बेलो मतावाका अनुसार अपहरमा परेका भनिएका २७९ जना रिहा भएका हुन्।
‘अपहरणमा परेका बालिका मुक्त भएको थाहा पाउँदा अन्त्यन्त खुशी लागेको छ। सकुशल फर्किनुमा अल्लाहको आर्शिवाद छ,’ गभर्नर डा मतावाले भने।
उनीहरुलाई सरकारी संरक्षणमा राखिएको छ।
अधिकारीहरुले यसअघि सयौंको संख्यामा आएका बन्धुकधारीहरुले दुर्गम जान्गेबे गाउँमा रहेको एक माध्यमिक विद्यालयबाट ३१७ जना बालिका अपहरण गरेको बताएका थिए। तर पछि यो संख्या २७९ रहेको जानकारी दिइएको थियो।
नाइजेरियामा बालिका अपहरणका घटनाहरु लामो समयदेखि हुँदै आएका छन्। भारी मात्रामा हातहतियार सहितका आपराधिक समूहले उत्तरपश्चिम र मध्य नाइजेरियामा मानिसहरुलाई फिरौतीका लागि अपहरण गर्ने, बलात्कार गर्ने तथा लुटपाट गर्ने गरेका छन्।
नाइजेरियाको सेनाले यस क्षेत्रमा सन् २०१६ देखि कारबाही गरिरहेको छ र सन् २०१९ मा बन्दुकधारीहरुसँग शान्ति सम्झौता पनि गरिएको थियो तर आक्रमणका घटना रोकिएका छैनन्।
गत डिसेम्बरमा कन्काराको एक विद्यालयबाट ३०० भन्दा बढी बालक अपहरण गरिएको थियो तर पछि ती बालकलाई अपहरणकारीले मुक्त गरेका थिए।
तर चिबोकबाट जिहादी समूहले गरेको २७६ जना स्कुले बालिकाको अपहरण भने निकै डरलाग्दो थियो। सरकारी फौजको व्यापक कारबाहीपछि केहीलाई जिहादी समूहले मुक्त गरेपनि अझै पनि केही बालबालिका बेपत्ता छन्।
लेगोसस्थित अनुसन्धान संस्था एसबी मार्गनका अनुसार सन् २०१६ को जनवरीदेखि मार्च २०२० को अवधिमा मात्र अपहरणकारीलाई एक करोड १० लाख डलर फिरौती बुझाइएको छ।
शनिबार मात्रै इजेरियाली राष्ट्रपति मोहम्मद बुहारीले फिरौती रकम असुल्नका लागि बालबालिकाहरुलाई निशाना बनाइनु गम्भीर अपराध रहेको बताएका थिए। उनले आफ्नो सरकार ब्ल्याकमेलमा नफस्ने समेत बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।