काठमाडौं- यो साता कारोबारको पहिलो दिन आइतबार ८० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सोमबार भने हरियाली देखिएको छ। आज परिसूचक ४०.६४ अंकले बढेर २५१५.०३ अंकमा कायम भएको छ।
सोमबार २०९ वटा कम्पनीको १ करोड १८ लाख ३८ हजार कित्ता सेयर ७० हजार ३३९ पटक खरिद बिक्री हुँदा ५ अर्ब ६९ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आजको कारोबार रकम पछिल्ला दिनहरुको तुलनामा करिब आधाले कम हो। अघिल्लो हप्ता नेप्सेमा साढे १० अर्ब रुपैयाँ सम्मको ऐतिहासिक कारोबार भएको थियो।
आज सबै समूहको उपसूचक हरियो देखिएको छ। सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ३५९.१७ अंकले बढेको छ। कारोबार रकम र सेयर संख्याका आधारमा आज नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को ४४ करोड ४८ लाख रुपैयाँ बराबरको ८ लाख ६३ हजार ८०२ कित्ता सेयर खरिद बिक्री भएको छ।
चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९.९० प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा सिटिजन्स म्युचुअल फन्ड–२ का लगानीकर्ताले प्रतिकित्ता १.८४ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।