काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार चलिरहेकै बेला सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना लगानीकर्तालाई ५ प्रतिशत बोनस सेयर बाँड्ने सूचना चुहाएपछि उक्त बैंकको सेयर कारोबार रोक्का गरिएको छ।
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आइतबार नेप्सेलाई पत्र पठाउँदै आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट साबिकको सेयर धनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश दिने निर्णय आइतबारको सञ्चालक समितिले गरेको जानकारी दिएको थियो।
आइतबार बिहान नेप्सेमा कारोबार शुरु अघि नै बैंकको संचालक समितिले उक्त निर्णय गरिसकेको भएपनि दिउँसो साढे १२ बजेमात्र नेप्सेलाई यसबारे जानकारी गराएको थियो।
बोनस बाँड्ने सूचना चुहिएपछि नेप्सेले बैंकलाई तीन दिनभित्र स्पष्टिकरण पेश गर्न भनेको छ। त्यस्तै संचालक समितिले पारित गरेको ५ प्रतिशत बोनस सेयरको सूचीकरण पनि रोकिएको नेप्सेले जनाएको छ।
‘लाभांश दिने कम्पनीको २०७७/११/१६ गते बसेको संचालक समितिले प्रस्ताव गरेको व्यहोराको पत्र सोहि दिन दिउँसो १२ः३४ बजे कारोबार चलिरहेको समयमा इमेल मार्फत नेप्सेमा पठाइएको’ कुरा नेप्सेले बैंकलाई सोधेको स्पष्टिकरणमा उल्लेख गरेको छ।
धितोपत्र सूचीकरण विनियमावली २०७५ को विनियम २२ (१) (घ) मा भएको व्यवस्था बमोजिम धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णयहरु नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ।
‘धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोहि दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि नेप्सेलाई जानकारी गराउनुपर्छ’ विनियमावलीमा भनिएको छ।
तर सांग्रिला डेभलपमेन्ट बैंकले विनियमावलीमा भएको यो व्यवस्था उल्लंघन गर्दै कम्पनीको सेयर कारोबार भएकै समयमा बोनस वितरणको सूचना चुहाएका कारण विनियमावलीको विनियम १६ (ख) मा भएको व्यवस्थाअनुसार उक्त कम्पनीको धितोपत्रको दोस्रो बजार कारोबार रोक्का राखिएको नेप्सेले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।