काठमाडाैं–म्यानमारमा प्रजातन्त्रवादीहरुले सैन्य ‘कू’ विरुद्ध आन्दोलन झनै चर्काएका छन्। आइतबार १८ जना प्रदर्शनकारीमाथि गोली प्रहार गरेर जुन्ता सरकारले हत्या गरेपछि सोमबार आन्दोलन चर्किएको हो।
आज प्रदर्शनले उग्र रुप लिएपछि यङगनमा प्रहरीले विभिन्न स्थानहरुमा पानीको फोहरा फाल्ने ट्याङदेखि बख्तरबन्द सैन्य गाडीसमेत परिचालन गरिएकाे राेयटर्सले जनाएकाे छ।
प्रदर्शनकारीहरूले उत्तरपूर्वी म्यानमारको केलमा आङ साङ सु चीको तस्विरहरू लिएर मार्चमा उत्रिएका छन्। उनीहरुको प्रजातन्त्रको पक्षमा नाराबाजी गरेका छन्।
आइतबार यगुन, दवेई र मान्डले जस्ता सहरमा प्रदर्शनकारीमाथि प्रहरीले गाेली प्रहार गरेकाे थियाे। प्रहरीले प्रदर्शनकारीमाथि सुरुमा अश्रुग्याँस र रबरकाे गाेली प्रहार गरेकाे थियाे। तर, प्रदर्शनकारीहरु पछि नहटेकाेपछि सुरक्षाकर्मीहरुले गाेली चलाएका हुन्।
प्रहरीले प्रदर्शनकारीमाथि गोली बर्साउँदा हालसम्मकै धेरै मनिसकाे मृत्यु भएकाे हाे। संयुक्त राष्ट्र संघीय मानवाधिकार कार्यालयले सैनिक कू पछिकाे सबैभन्दा घातक दिन भएकाे टिप्पणी गरेकाे छ।
सु ची र नेशनल लिग फर डेमोक्रेसी (एनएलडी) का अधिकांश नेतृत्वलाई हिरासतमा लिँदै सेनाले गत फेब्रुअरी १ मा शासन सत्ता हातमा लिएको थियो।
‘कू को एक महिना पुगेको छ। उनीहरुले हामीमाथि गोली बर्साएर हिजो दमन गरे। आज हामी पुनः सडकमा उत्रन्छौं,’ प्रदर्शनको नेतृत्व गरिरहेका नेता ई थिन्जार मुआङे फेसबुकमा भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।