काठमाडाैं– हङकङ प्रहरीले ४७ जना प्रजातन्त्र समर्थक आन्दोलनकारीलाई पक्राउ गरेको छ। पक्राउ परेका ३९ पुरुष र ८ महिला छन्। तिनीहरूको उमेर २३ देखि ६४ वर्ष बीच रहेको जनाइन्छ।
आइतबार उनीहरुलाई राष्ट्र विरोधी षडयन्त्र गरेको आरोपमा ‘राष्ट्रिय सुरक्षा ऐन अन्तर्गत’ पक्राउ गरिएको अलजजिराले जनाएको छ।
यस वर्षको जनवरीमा प्रहरीले पूर्व सांसदहरू र प्रजातन्त्रका समर्थकहरूलाई पक्राउ गरेको थियो तर पछि उनीहरूलाई रिहा गरिएकाे थियाे।
तर प्रहरीले आइतबार उनीहरुलाई पुन: पक्राउ गरेकाे छ र सोमबार अदालतमा पेश गरिने जनाइएको छ।
प्रहरीका अनुसार पक्राउ परेकाहरुले राष्ट्रिय सुरक्षा ऐनको उल्लंघन गरेका थिए। यो ऐन चीन सरकारले गत वर्षको जुनमा लागू गरेको थियो।
आइतवार पक्राउ पर्नेमा पूर्व सांसद एडी चु पनि पर्छन्। उनको आधिकारिक ट्वीटर एकाउन्टमा उनी पक्राउ परेको जनाइएको छ। त्यही समयमा, प्राइमरी निर्वाचनका उम्मेदवार विनी युलाई पनि पक्राउ गरिएको थियो।
उनले पनि आफू पक्राउ परेको फेसबुक पेजमार्फत जानकारी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।