काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले सञ्चालनमा रहेको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ जहाज ह्याङ बनाउने भएको छ। प्राधिकरणले नयाँ ह्याङगर एरिया निर्माणका लागि टेन्डर समेत गरिसेको छ।
अहिले नेपाल वायुसेवा निगमको र सेनाको ह्याङगर रहेको ठाउँमा विमानस्थलकै लागि आवश्यक पूर्वाधार निर्माणका लागि नयाँ ठाउँमा ह्याङगर एरिया तथा एप्रोन निर्माण गर्न लागेको प्राधिकरण महानिर्देशक राजन पोखरेलले बताए।
प्राधिकरले दक्षिण एशियाली उपक्षेत्रीय आर्थिक साझेदारी (सासेक)अन्तर्गतको हवाई क्षमता अभिवृद्धि आयोजना अन्तर्गत उक्त काम गर्न लागेको हो। केही समय अगाडि मात्रै सासेकले गौतक बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई पूर्वाधार निर्माणका लागि १८ अर्ब रुपैयाँ भन्दा बढी रकम लगानी गर्ने गरी अर्थ मन्त्रालयसँग सम्झौता गरेको थियो।
‘प्राधिकरणले नयाँ ह्याङगर र एप्रोन एरिया तयारी पार्ने छ,’ पोखरेलले भने, ‘ह्याङर निर्माण पछि एयरलाइन्सले आफैं बनाउने छन्। अहिले हामीले एरिया तयार गर्ने हो। यो विषय विमानस्थलको मास्टर प्लानमा पनि उल्लेख छ।’
प्राधिकरणले तयार पार्ने नयाँ ह्याङगर क्षेत्रमा नेपाल एयरलाइन्स र नेपाल आर्मीको ह्याङगर पनि त्यही जाने पोखरेल बताउँछन्। पोखरेलका अनुसार अहिले ह्याङगर एरिया बनाउने र पछि विमानस्थलको मास्टर प्लान अनुसार उनीहरुलाई नै रकम दिएर ह्याङगरको संरचना बनाउने दिने तयारी भएको छ।
तर, अहिले सहमति भने भइसकेको छैन। नयाँ ह्याङगर एरियमा दुई पक्षीय सहमतिमा नै आफूहरु अगाडि बढने नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले बताए। प्राधिकरणले विमानस्थलको रनवेको पूर्वपट्टि ह्याङगर एरिया निर्माण गर्न लागेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।