काठमाडाैं- म्यानमारमा सैनिक कू विरुद्धमा सुरु भएको विरोध प्रदर्शन हिंसात्मक हुन थालेको छ। सैनिक नेतृत्वले आन्दोलन दबाउन हिंसात्मक रुपमा अघि बढेको छ। आइतबार म्यानमारको मुख्य सहरहरु यंगुन, मान्डले लगायतका अन्य सहरमा सुरक्षा बलले बल प्रयोग गरेका छन्।
प्रदर्शनकारी दबाउनका लागि उनीहरुले रवरको गोली र टियर ग्याँसको प्रयोग गरेका छन्। त्यस्तै, केही स्थानमा प्रहरीले गोली समेत चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्। तर, उक्त प्रहारबाट ज्यान गुमाउने र घाइते हुनेहरुको विवरण सरकारले सार्वजनिक गरेको छैन। विभिन्न स्रोतहरुले चार जनाको मृत्यु भएको दाबी गरेका छन्।
म्यानमारमा १ फेब्रुअरीदेखि सैन्य शासन लागू भएको छ। मुख्य सहरहरुमा विरोध प्रर्दशन सुरु भएपनि अहिले ती प्रर्दशनहरु हिंसात्मक हुन थालेका छन्। प्रर्दशनमा समाजका सबै वर्गका मानिसहरुको उपस्थिति देखिन थालेको छ। सैन्य शासकसँग म्यानमारकी सर्वोच्च नेता आङ साङ सुचिको रिहाइको माग उनीहरुले गरिरहेका छन्। सैन्य सरकारले सुचिसहित शिर्ष नेताहरुलाई अपदस्थ गर्दै हिरासतमा लिएको थियो।
आइतबार रोयटर्स र अन्य समाचार संस्थाहरुले प्रदर्शनका क्रममा गोली चलेको पुष्टि गरेका छन्। जब रवरको गोली र टियर ग्याँसले मानिसहरु तितरवितर भएनन् अनि प्रहरीले गोली चलाएको थियो। बिबिसी बर्मा सेवाका अनुसार दवेई कस्बेमा चार मानिसको मृत्यु गोली लागेर भएको छ भने केही घाइते भएका छन्।
मृत्यु हुनेका दवेई, येब्यु र लोगन्लोनका रहेका छन्। केही मानिस घाइते भएका र केहीलाई पक्राउ गरिएको बिबिसीले जनाएको छ। राजनेता क्याव मिन तिकेले रोयटर्सलाई प्रहरीको गोलीबाट दवेई कस्बेमा गोली लागेर तीन जनाको मृत्यु भएको र केही व्यक्ति घाइते भएको बताए। शिक्षकहरुले गरेको विरोध प्रदर्शन रोक्नका लागि स्टन ग्रेनेड प्रहार भएको र जसले एक महिला शिक्षकको मृत्यु भएको रोयटर्सले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।