काठमाडौं- नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले हेभी ल्यान्डिङ गर्ने २ जना पाइलटको उडानमा प्रतिबन्ध लगाएको छ। निगमले वाइडबडी ए३३० ‘मकालु’ उडान गर्दै हेभी ल्यान्डिङ गरेर सूचना नदिने २ जना पाइलटलाई उडानमा प्रतिबन्ध लगाएको हो।
निगमले पाइलटद्वय सुनील श्रेष्ठ र महेशमान डंगोललाई उडानमा प्रतिबन्ध लगाइको जनाएको छ। उनीहरुले ८ जनवरीमा दोहाबाट काठमाडौं अवतरण गरेको जहाज हेभी ल्यान्डिङ भएको थियो।
तर, पाइलटले नियमित फ्लाइट डाटा विश्लेषण कार्यक्रममा जानकारी दिएका थिएनन्। मासिक रुपमा एयरबसले पठाउने म्यानुयल रिपोर्टमा जहाज हेभी ल्यान्डिङ भएको विवरण पठाएपछि निगमले उक्त विषय थाहा पाएको निगम महाप्रबन्धक डिमप्रकाश पौडेलले जानकारी दिए।
उनका अनुसार निगमले जहाज हेभी ल्यान्डिङ भएको विषय ९ फेब्रुअरीमा थाह पाएको थियो। थाहा पाउने बित्तिकै किन जानकारी नगराएको भन्दै पाइलटहरुलाई सोध्दा उनीहरुले जवाफ नदिएपछि अनुसन्धानका लागि उनीहरुलाई उडानमा प्रतिबन्ध लगाइसकेको पौडेलले बताए।
अहिले निगमले उक्त घटनाका छानबिनका लागि वरिष्ठ क्याप्टेन युवराजकुमार भट्टराईको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ। अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड तथा निगमको आफ्नै सुरक्षा व्यवस्थापन प्रणाली बमोजित आन्तरिक सुरक्षा जाँचबुझ गर्न भट्टराईको संयोजकत्वमा बनाएको समितिमा क्याप्टेन विजय लामा, मनिष कुमार साह र डम्बर रावत सदस्य छन्।
‘घटनाको विषय थाहा पाउने बित्तिकै एयरबसलाई पत्रचार गरेको र उनीहरुको रायमा अहिले जहाज उडान गरिरहेका छौं,’ पौडेलले भने, ‘एक सय उडान साइकल तथा २ महिनासम्म जहाज उडान गर्न मिल्छ भनेका छन्। तर, सो अवधिमा निश्चित जाँच गर्नुपर्ने भन्ने जानकारी प्राप्त भएको छ।’
हवाई सुरक्षालाई दृष्टिगत गरी छानबिन समितिको प्रतिवेदनको आधारमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सुरक्षा मापदण्ड अनुरुप थप कारबाही अगाडी बढाइने समेत निगमले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।