काठमाडौं- यो साता कारोबारको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७९.७४ अंकले घटेको छ। आज कारोबार सुरु भएलगत्तै ओरालो लाग्न सुरु भएको परिसूचक ३.१२ अंकले घटेर २४७४.३९ अंकमा कायम भएको छ। आज सेन्सेटिभ परिसूचक १४.५३ अंकले घटेर ४४७.२९ अंकमा कायम भएको छ।
आज २०७ वटा कम्पनीको १ करोड ६० लाख १७ हजार कित्ता सेयर ९६ हजार १५१ पटक खरिद–बिक्री हुँदा ८ अर्ब ३५ करोड ५२ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
नेप्सेले आजबाट नयाँ उपसूचक कार्यान्वनमा ल्याएको छ भने साविकको होटल समूहमा चन्द्रागिरी हिल्स लिमिटेडलाई पनि राखेर ‘होटल तथा पर्यटन’ समूह बनाएको छ। आज चन्द्रागिरी हिल्सको सेयरमा राम्रो कारोबार भएका कारण होटल तथा पर्यटन समूह मात्रै हरियो देखिएको छ भने बाँकी सबै समूहको उपसूचक रातो देखिएको छ।
सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ६२४.८ अंकले घटेको छ। त्यस्तै, बैकिङ समूह ५४.५७, व्यापार समूह ११.२२, विकास बैंक समूह ७५.५१, र जलविद्युत समूह ६७.१५ अंकले घटेको छ। वित्त, निर्जीवन बीमा, उत्पादन, लघुवित्त, लगानी र अन्य समूह क्रमशः २९.७४, १७८.१, १९८.२, १४१.२९, ४.१३, र ८३.३५ अंकले घटेको छ।
आज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको एक अर्ब २ करोड १६ लाख रुपैयाँ बराबरको ३ लाख ५६ हजार २१४ कित्ता सेयर कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको १२ लाख २९ हजार कित्ता सेयर खरिद–बिक्री भएको छ।
आज सबैभन्दा धेरै चन्द्रागिरी हिल्स लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ९.८१ प्रतिशतका दरले कमाएका छन् भने सबैभन्दा धेरै गुमाउनेमा गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता ७ प्रतिशतका दरले गुमाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।