काठमाडौं– प्राथमिक सेयर निस्कासन (आइपिओ) को मात्र नतिजा हेर्न मिल्ने गरी सिडिएस एण्ड क्लियरिङ लिमिटेडले छुट्टै वेबसाइट सार्वजनिक गरेको छ। नयाँ वेबसाट सार्वजनिक भएसँगै अब सबै सार्वजनिक निष्कासन भएका धितोपत्रको बाँडफाँटको नतिजा लगानीकर्ताले यही पोर्टलमार्फत् हेर्न पाउनेछन्।
लगानीकर्ताले आफूले भरेको आइपिओ नतिजा अब ‘आइपिओ रिजल्ट डट सिडिएससी डटकम डट एनपी’ मार्फत हेर्न पाउनेछन्। सार्वजनिक निष्कासन भएका धितोपत्रको आँडफाँटको नतिजा सम्बन्धित निष्कासनकर्ता कम्पनी र निष्कासन तथा विक्री प्रबन्धकको बेभसाइटमा राख्ने साबिकको व्यवस्थालाई पनि यथावत् राखिएको छ।
शुक्रबार सार्वजनिक भएको महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपिओ बाँडफाँटको नतिजाका कारण सिडिएससी तथा मेरो सेयरको वेभसाइट प्रयोगकर्ताको अत्याधिक चाप देखिएको थियो। त्यस्तै महिला लघुवित्त कम्पनी र उक्त सार्वजनिक निष्कासनको निष्कासन तथा विक्री प्रबन्धक नेपाल एसविआई मर्चेन्ट बैङ्गि लिमिटेडको वेबसाइटमा पनि लगानीकर्ताको अत्याधिक चापका कारण दुवै वेबसाइटले काम गर्न छोडेका थिए। जसकारण सबै लगानीकर्ताको चाप मेरो सेयरको वेभसाइटमा मा पर्न गई मेरो सेयरले दिने अरु सेवाहरुसमेत प्रभावित भएका थिए।
सार्वजनिक निष्कासनको नतिजा मात्र राखिने नयाँ पोर्टल सुरक्षित, छरितो तथा धेरै लगानीकर्ताले एकसाथ प्रयोग गर्दा समेत सहज रूपमा सञ्चालन गर्न सकिने गरि उच्च क्षमतामा तयार गरिएको सिडिएसीले जनाएको छ। सो पोर्टलमा लगानीकर्ताले सार्बजनिक निष्कासन भएका धितोपत्रको बाँडफाँट को नतिजा बाँडफाँट सम्पन्न हुने बित्तिकै सहज रूपमा हेर्न सक्नेछन्। उक्त पोर्टलमा हाल महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको बाँडफाँटको नतिजा अपलोड गरिसकिएको छ भने अरु विवरणहरु आइतबारसम्ममा राखिसक्ने पनि सिडिएससीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।