अस्ट्रेलियाको हवाई नियामकले बोइङ ७३७ म्याक्स मोडलको विमानमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको छ। याेसँगै यो मोडलको विमानमा प्रतिबन्ध हटाउने अस्ट्रेलिया एसिया प्यासिफिकको पहिलो मुलुक बनेकाे छ।
पछिल्लो दुई वर्षयता अस्ट्रेलियामा यो मोडलको विमानको उडानमा प्रतिबन्ध लगाइँदै आएको थियाे।
प्रतिबन्ध हटाइएपनि कहिलेबाट यो विमानलाई अनुमति दिइने भन्ने खुलाइएको छैन। अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारी नियन्त्रणका लागि भन्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय भ्रमणमा रोक लगाएको छ।
अस्ट्रेलियाका कुनै पनि एयरलाइन्स कम्पनीले यो मोडलको विमान प्रयोग गर्दैनन्। तर, फिजी एयरवेज र सिंगापुर एयरलाइन्सले भने यो मोडलको विमानले अस्ट्रेलियाको उडान भर्दै आएकाे छ।
तर उडानको लागि यी विमानले घरेलु मुलुकबाट अनुमति लिनुपर्नेछ।
इन्डोनेशिया तथा इथियोपियामा ७३७ म्याक्स मोडलका दुईवटा विमान दुर्घटनाग्रस्त भएपछि उक्त मोडलका विमानको उडान संसारभरि रोकिएको थियो।
इन्डोनेशिया तथा इथियोपियामा उक्त जेट मोडलको नयाँ फीचरमा समस्या देखिएका कारण भएका दुर्घटनामा ३०० जनाभन्दा धेरैको ज्यान गएको थियो।
ती दुर्घटनाका मुख्य कारक ठानिएको स्वचालित नियन्त्रण प्रणालीको समस्या समाधान गर्न बोइङले त्यसको पुन: डिजाइन गर्ने बताउँदै आएको छ।
अहिले उक्त मोडलका ४०० वटा विमान गोदाममा छन्।
विश्वका कतिपय विमानसेवाले ७३७ म्याक्स विमान मगाएका थिए। तर बोइङका इन्जिनियरहरूलाई समस्या समाधान समय लाग्ने भएकाले हस्तान्तरण गरिएको थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।