काठमाडाैं– भारतीय अर्बपति व्यापारी मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थले भरिएको कार फेला परेको छ।
मुकेश अम्बानीको घर एन्टिलियामा उक्त स्कोर्पियो कार भेटिएको हो। प्रहरीका अनुसार स्कोर्पियोभित्र ‘मुम्बई इन्डियन्स’को ब्याग राखिएको थियो। उक्त क्रिकेट टीमका मालिक मुकेश अम्बानी हुन्।
उक्त कारमा एक चिट्ठी पनि भेटिएको छ।
‘यो त ट्रेलर मात्र हो। नीता भाउजू, मुकेश दाजु, यो त झलक मात्र हो। अर्कोपालि सामान भरिएर तपाईं कहाँँ आउनेछ र त्यसको व्यवस्था भइसकेको छ। सम्हालेर रहनू। गूड नाइट,’ उक्त चिट्ठीमा लेखिएको छ।
उक्त चिट्ठी फेला परेपछि अम्बानीको घर बाहिर सुरक्षा व्यस्था कडा पारिएको छ। अहिले मुम्बई क्राइम ब्रान्चको १० टीमले घटनाको अनुसन्धान गरिरहेको जनाइएको छ।
यस्तै पाँचजनामाथि निगरानी राखिएको अधिकारीहरुले बताएका छन्। यसका साथै एन्टिलिया नजिकका सीसीटीभी फुटेज पनि हेर्ने क्रम जारी रहेको बताइएको छ।
यता भारतीय सञ्चारमाध्यमहरुले ती अज्ञात व्यक्तिहरुले कारलाई अम्बानीको घरभन्दा नजिकै राख्न चाहेको भए पनि सुरक्षाका कारण नसकेको दावी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।