काठमाडौं– संसदीय समितिले कास्कीको रिठेपानी डाँडा ६ महिनाभित्र कटान गर्न सरकारलाई निर्देशन दिएको छ।
बिहीबार बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थन सञ्चालनमा आउनुपूर्व डाँड कटान गरिसक्न संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएको हो।
समितिको बैठकमा विमानस्थलको स्थलगत अनुगमन तथा अवलोकनको क्रममा देखिएका समस्याबारे सरोकारवालासँग छलफल भएकाे थियो।
समिति सभापति तारादेवी भट्टले डाँडा कटान भएको प्रगति विवरण समितिमा पेस गर्नसमेत मन्त्रालयलाई निर्देशन दिइन्।
समितिको बैठकले विमानस्थलभित्र निर्माण गर्न लागिएको नेपाल आयल निगमको डिपो निर्माण गर्ने कार्य पनि ६ महिनाभित्र सम्पन्न गरी समितिमा जानकारी गराउन भनिएको छ।
समितिले पोखरा महानगरपालिकाको ल्याण्डफिल्ड साइट सार्ने सम्बन्धमा समेत महानगरपालिकासँग छलफल गर्ने निर्णय गरेको छ।
समितिले विमानस्थल निर्माणका बाँकी सबै काम समयमै सम्पन्न हुने विश्वास गरेको छ। सबै काम छिटोभन्दा छिटो सम्पन्न गर्न सम्बन्धित सबै मन्त्रालयलाई निर्देशन दिने निर्णय समितिले गरेको छ।
सरकारले २०२१ को जुलाई सम्ममा पोखरा क्षेत्रीय अन्तर्राट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। हालसम्म विमानस्थल निर्माणको भौतिक प्रगति ६५ प्रतिशत रहेको छ भने यसका लागत २३ अर्ब अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।