मान्म, कालिकोट– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओली सरकारले मुलुकको समृद्धिका लागि कुनै पनि लक्षण नदेखाएको आरोप लगाएका छन्।
कर्णाली प्रदेशमा कांग्रेस सुदृढीकरण अभियान लिएर जाने क्रममा कालिकोट पुगेका पौडेलले कांग्रेस कालिकोटको दोस्रो जिल्ला सम्मेलनको उदघाटन गर्दै यस्तो आरोप लगाएका हुन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण धार्मिक यात्रामा सीमित हुनुले ओली सरकारसँग कुनै नीति नभएको प्रस्ट भएको टिप्पणी गरे।
‘बिहानले दिन देखाउँछ भने झैं ओली सरकारले केही नगर्ने लक्षण देखाएको छ’, उनले भने, ‘भारतका प्रधानमन्त्री तीर्थयात्रा मात्र गरेर फर्कनुले पनि ओली सरकारसँग कुने नीति र भिजन छैन भन्ने स्पष्ट देखाएको छ।’
वरिष्ठ नेता पौडेलले विकास–निर्माणका पूर्वाधार सबै कांग्रेस सरकारकै पालामा भएको बताउँदै भने, ‘कर्णालीलाई सडक सञ्जालमा जोड्ने नीति कांग्रेसले लिएको हो। विगतमा पटक–पटक कम्युनिस्ट नेतृत्वमा सरकार बने पनि के गरे अहिलेसम्म?’
उनले कम्युनिस्टको सरकारले खोक्रा नारा दिएर जनता झुक्याउने काम मात्रै गर्दै आएको आरोप समेत लगाए।
वरिष्ठ नेता पौडेलले ऊर्जा शक्तिको विकास, कृषि क्रान्ति र पर्यटनको विकास गरेर मात्रै कर्णालीको विकास र समृद्धि सम्भव हुने तर्क गरे। उनले भने, ‘हाम्रो उद्देश्य भनेको गाउँमा विकास पु¥याएर रोजगारी र आम्दानी सिर्जना गर्ने हो। उखान टुक्का र हास्यव्यंग्य गरेर विकास सम्भव छैन।’
उनले बितेको निर्वाचनमा कांग्रेस पराजित भएपछि आफ्नो मनमा कर्णालीबाटै पार्टी सु्दृढीकरण अभियान थाल्नुपर्छ भन्ने लागेको र सोही अभियानमा आएको बताए।
नेता पौडेलले कांग्रेसको सिद्धान्तको विजय हुने तर कांग्रेस भने पराजित हुने विषयमा हरेक तहमा समीक्षा जरुरी भएकोमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।