मणि शाहलाई राम्रो फुटबल खेलाडीको रुपमा चिन्छु। ऊ मभन्दा एक ब्याच जुनियर भए पनि हामीले धेरै वर्ष सँगै खेल्यौं।
म डिफेन्स र ऊ मिडफिल्ड खेल्ने भएकाले खेलको दौरान हाम्रो राम्रो तालमेल हुन्थ्यो। मिडफिल्डमा खेल्ने उसको शैली गज्जबको थियो। अरुभन्दा फरक शैली भएका कारण टिममा सबैभन्दा उत्कृष्ट लाग्थ्यो। देब्रे खुट्टाले प्रहार गर्ने उसको फ्रि-किक लोभलाग्दो हुन्थ्यो। मिडफिल्डबाट बल पास गर्ने तरिका पनि अन्य खेलाडीभन्दा फरक थियो।
उसको बल अघि बढाउने शैली निकै राम्रो थियो। उसको शैली हेरेर उसलाई त्यसबेला फुटबलप्रेमीहरुले 'नेपाली म्याराडोना' भन्ने उपनाम दिएका थिए। किनकि उसको खेल्ने शैली र कपाल अर्जेन्टिनाका फुटबलर म्याराडोनासँग मिल्थ्यो।
फुटबल टिम खेल भएकाले सबै खेलाडीको एक-अर्कासँग समन्वय भइहाल्छ। यसमा पनि डिफेन्स र मिडफिल्ड झन् नजिक भएर खेल्छन्। मैले दिएको पासले मणिले धेरै गोल गरेको थियो। धेरै वर्षसम्म सँगसँगै खेल्दा हाम्रो हिमचिम यस्तो थियो, हामी दाजुभाइ जस्तै भइसकेका थियौं।
उसले उत्कृष्ट गोल गरेको क्षणको म धेरै पटक साक्षी हुन पाएको छु। जसमा सन् १९९३ मा गरेको गोल महत्वपूर्ण थियो। उसले नै प्रहार गरेको फ्रि-किक निर्णायक बन्दा साफमा नेपालले स्वर्ण जितेको थियो।
१९९३ पछि उसले नेपाली टिमको कप्तानी पनि कुशलतापूर्वक सम्हालेको थियो।
मैदानमा उसको खेल्ने शैली आक्रामक थियो, पावर गेम खेल्नमा माहिर थियो। तर, स्वभाव भने शान्त थियो। सिनियरलाई धेरै सम्मान दिन्थ्यो।
पछिल्लो पटक अखिल नेपाल फुटबल संघ (एन्फा)को बैसाख २२ गते भएको निर्वाचनमा हाम्रो भेट भएको थियो। त्यो दिन हामीले धेरै कुरा गर्यौं।
केही वर्षयता उसको केलेजोमा समस्या थियो। यो विषयमा मैले डाक्टरसँग सल्लाह पनि गरेको थिएँ। तर, मैले स्थिति धेरै बिग्रिसकेको रहेछ। त्यसैले उसको आत्मबल कमजोर नहोस् भनेर मैले डाक्टरसँगको कुरा उसलाई बताइनँ।
उसको अवसानले नेपाली फुटबलले ठूलो क्षति बेहोरेको छ। नेपाली फुटबलले पहिलेका उत्कृष्ट फुटबलर र अहिलेका राम्रा प्रशिक्षकलाई गुमाएको छ।
युवा पुस्ताले मणि शाहले खेलेको इतिहासलाई हेरेर, मनन गरेर राम्रो फुटबलर बन्न प्रेरणा लिन सक्छन्। धेरै खेलाडीले उसको पुराना खेल हेरेर अनुकरण गर्नसके उनीप्रति सम्मान हुनेछ।
(नेपाली राष्ट्रिय टिमका पूर्व डिफेन्डर प्रधानसँगको कुराकानीमा आधारित। असीको दशकमा प्रधान र मणि शाहले करिब पाँच वर्ष राष्ट्रिय फुटबल टिमबाट सँगै खेलेका थिए।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।