नेपालगन्ज- कैलाश मानसरोवरको दर्शन गर्न जाने भारतीय पर्यटकहरुको संख्यामा वृद्धि भएको छ।
नेपालगन्जबाट हवाईमार्ग हुँदै हुम्लाको सिमीकोट र चीनको ताक्लाकोट भएर भारतीय पर्यटकहरु कैलाश मानसरोवरको दर्शनका लागि जाने क्रम पछिल्ला वर्षहरुमा बढ्दै गएको छ। दैनिक दुई सयभन्दा बढी भारतीय पर्यटक कैलाश मानसरोवरको दर्शनका लागि नेपालगन्ज आउन थालेका छन्।
कैलाश मानसरोवरको दर्शन गर्न जाने सिजन सुरु भएसँगै नेपालगन्ज विमानस्थल समेत व्यस्त हुन थालेको छ। गतवर्ष करिब १२ हजार पर्यटकहरु नेपालगन्ज हुँदै कैलाश मानसरोवरको दर्शन लागि गएका थिए।
काठमाडौंबाट नेपालगन्जका लागि सञ्चालन हुँदै आएका अधिकांश विमान मानसरोवर दर्शनका लगि जाने भारतीय पर्यटकले भरिने गरेको यती एयरलाइन्सका नेपालगन्जका स्टेशन म्यानेजर दीलिप कार्कीले बताए।

भारतको कर्नाटका, केरल, आन्द्रप्रदेश, गुजरात, मध्यप्रदेश, महाराष्ट्रका सयौं पर्यटकहरु मानसरोवरको दर्शनका लागि सडक तथा हवाई मार्ग हुँदै नेपालगन्जमा आउन थालेपछि यहाँका होटल पनि भरिभराउन हुन थालेको सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका क्षेत्रिय प्रबन्धक केशव न्यौपानेले बताए।
मानसरोवर दर्शनका लागि जाने पर्यटकहरुको संख्या बढेसँगै नेपालगन्जबाट हुम्लाको सिमीकोटका लागि गोमा र तारा एयरले दैनिक ४ देखि ८ वटासम्म उडान भर्ने गरेका छन्।
मानसरोवरको दर्शनका लागि भारतीय पर्यटकहरु भदौसम्म आउने पर्यटन व्यवसायीहरु बताउँछन्। हिन्दु, बौद्ध, जैन लगायत विभिन्न समुदायका धर्मालम्बीहरुको आस्थाको धरोहरको रुपमा रहेको कैलाश मानसरोवरको दर्शन गर्नाले सबै पाप मेटिने र रोगबाट मुक्ति पाइने धार्मिक विश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।