काठमाडौं- सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले भारतीय सञ्चार माध्यम जी-न्युजका सम्पादक सुधीर चौधरीलाई कारबाही गर्न सिफारिस गरिएको जानकारी दिएको छ। हेलिकोप्टर होभरिङ तथा नियमनका सम्बन्धमा सबै हेलिकोप्टर सेवा प्रदायकहरूलाई पत्र काट्दै निकुञ्ज कार्यालयले बिना अनुमति हेलिकोप्टर अवतरण गराएको भन्दै चौधरीलाई कारबाहीका लागि सिफारिस गरिएको जनाएको हो।
'कालापत्थर क्षेत्रमा विना अनुमति अवतरण गरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको लिखित सहमति तथा यस कार्यालयको लिखित अनुमति विना छायांकन गरेकोमा आवश्यक कारबाहीका लागि लेखी पठाएको' निकुञ्जले हेलिकोप्टर कम्पनीहरूलाई लेखेको पत्रमा उल्लेख छ।
बिना अनुमति हेलिकोप्टर अवतरण गराएको र छायांकनसमेत गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको र कारबाहीका लागि सिफारिस भएको निकुञ्जको भनाइ छ। निकुञ्ज कार्यालयले बिना अनुमति हेलिकोप्टर अवतरण नगराउनसमेत सबै सेवा प्रदायकहरूलाई आग्रह गर्दै पुस २६ को घटनाप्रति ध्यानाकर्षण भएको समेत गरेको छ।
'निकुञ्ज तथा मध्यवर्ती क्षेत्रभित्र विना अनुमति हेलिकप्टर अवतरण तथा छायांकन गर्ने जस्ता गैरकानुनी क्रियाकलापप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,' पत्रमा उल्लेख छ।
पुस २६ गते भारतीय पत्रकार सुधीर चौधरीले सिम्रिक एयरको हेलिकोप्टर निकुञ्जमा अवतरण गराई छायाँकन गरी भारतीय सञ्चार माध्यम जी-न्युजमा प्रसारण गरेका थिए। त्यसको एक दिन अघि मात्र चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग लिएको अन्तर्वार्ता जी-न्युजबाट प्रसारण भएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।