राजविराज– मिथिलाञ्चलका महिलाहरुले मंगलबार हर्षोल्लासका साथ वटसावित्री पर्व मनाएका छन्। विवाहिता महिलाहरुले पतिको दीर्घायु तथा कुशल दाम्पत्य जीवनको कामना गर्दै यो पर्व मनाउने प्रचलन छ।
प्रत्येक वर्ष जेठ महिनाको अमावस्या तिथीका दिन मनाइने वटसावित्री पूजाका लागि व्रतालु महिलाहरु वर–पिपलको रुखमूनी भेला हुने र सामुहिक रुपमा पूजा गर्ने गर्छन्।
पान, सुपारी, केरा, धुप लगायतका सामग्रीसहित व्रतालु महिलाहरुले वर र पिपलको पुर्जा गर्छन्। पूजाका क्रममा पतिको दिघार्यूको कामना गर्दै वर–पिपलको रुखमा रंगिन (रातो र पहेलो) धागो बेर्ने प्रचलन छ। यो पूजामा बाँसको पंखाको विशेष महत्व छ। वरको रुखलाई पतिको प्रतिकका रुपमा मान्दै गर्मीको प्रभाव नपरोस् भन्ने उद्देश्यले पूजा गरेपछि पंखा हम्किने परम्परा रहेको राजविराज १३, विषहरीयाकी व्रतालु महिला रिंकु यादवले बताइन्।

वरको रूखमा ब्रह्मा, विष्णु र महेशको बास हुने र सोही रूख मुनि बसेर पूजा गरे भगवान खुसी भएर मनोकांक्षा पुरा गर्ने जनविश्वास रहिआएको छ। सत्ययुगमा सतिसावित्रीले यसै व्रतका प्रभावले आफ्ना पति सत्यभानको जीवन यमराजबाट फिर्ता गराउन सफल भएपछि सोको सम्झनास्वरुप अहिले पनि पतिको दीर्घायुका लागि यो व्रत बस्ने गरिएको महिलाहरु बताउँछन्।
भविष्य पुराणमा पनि निष्ठापुर्वक यो व्रत पुरा गरे पतिको दीर्घायु हुने उल्लेख छ।
यसै पर्वको अवसरमा सप्तरीका राजविराज नगरपालिका, बरमझिया, महादेवा, इनरुवा, कोइलाडी, मानराजा, खडकपुर, विरेन्द्र बजार, सितापुर, औरही, भुतही, तरही, पातोलगायतका स्थानमा रहेका वर–पिपलका रुखमा महिलाहरुको घुइँचो लागेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।