काठमाडौं– जगन्नाथपुरीस्थित श्रीगोवर्द्धन मठका पीठाधीश्वर शंकराचार्य निश्चलानन्द सरस्वतीलाई आज टुँडिखेलमा नागरिक अभिनन्दन गरिने भएको छ। नागरिक अभिनन्दनपछि उनले टुँडिखेलमा प्रवचन दिने बताइएको छ। यसअघि सोमबार पशुपति क्षेत्र विकास कोषले उनलाई अभिनन्दन गरेको थियो।
नेपालको साताव्यापी धार्मिक यात्रामा रहेका शंकराचार्य निश्चलानन्द सरस्वतीले वैदिक दर्शनको संरक्षण र प्रवर्द्धनमा पुर्याएको योगदानको कदर गर्दै अभिनन्दन गरिएको हो।
उनले वैदिक दर्शनलाई आधार मानेर १ सय ६७ वटा पुस्तक लेखेका छन्। शंकराचार्य निश्चलानन्द सरस्वतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका रवीन्द्रप्रसाद अधिकारीले फूलमाला र अभिनन्दन पत्रसहित सम्मान गरे।
यसअघि सोमबार बिहान उनले पशुपतिनाथ मन्दिरमा वैदिक विधिपूर्वक विशेष पूजा गरेका कोषका सदस्य सचिव डा प्रदीप ढकाल जानकारी दिए। पशुपतिमा विशेष पूजापछि उपस्थित भक्तजनलाई आशीर्वचन दिँदै सरस्वतीले नेपाल हरिहर र शालग्राम भूमि भएकाले धार्मिकरुपमा धेरै महत्व रहेको उल्लेख गरे।
‘सनातन वैदिक आर्य संस्कृतिका मूल्यमान्यतालाई आधुनिक विज्ञानले प्रमाणित गर्दै गएको छ। विज्ञानको खोजको अन्त्यपछि वैदिक दर्शनको सुरुवात हुन्छ।’, शंकरचार्य निश्चलानन्द सरस्वतीले भने।
कार्यक्रममा उनले दिवाकर आचार्यद्वारा लिखित ‘नेपालका पीठ र गुह्येश्वरी’ नामक पुस्तककोसमेत विमोचन गरेका थिए। कार्यक्रममा कोषका सदस्य सचिव ढकालले शंकराचार्यले स्थापना गरेका चार मठले वैदिक संस्कृतिको उन्नयनमा पुर्याएको महत्वपूर्ण योगदानको चर्चा गरेका थिए।
यसअघि २०५४ मा तत्कालीन उपप्रधान एवं गृहमन्त्री वामदेव गौतमको निमन्त्रणामा जगद्गुरु शंकराचार्य जयन्द्र सरस्वती नेपालको धार्मिक यात्रामा आएका थिए।
यसपटक कोष र नेपाल पर्यटन बोर्डले शंकराचार्य निश्चलानन्द सरस्वतीलाई धार्मिक पर्यटनका लागि नेपाल आमन्त्रण गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।