पोखरा– नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयको प्रवर्द्धन एवम् इलाका प्रहरी कार्यालय, डाँडाको नाक र लेखनाथ होटल व्यवसायी संघको आयोजनामा लेखनाथ क्षेत्रमा ट्याक्सी चालकलाई पर्यटक आतिथ्यता विषयक तालिम प्रदान गरिएको छ।
पर्यटक सर्वप्रथम ट्याक्सी चालकसँग सम्पर्कमा जाने भएका कारण उनीहरूलाई पर्यटकसँग गरिने व्यवहारलगायतका विषयमा जानकारी दिने उद्देश्यका साथ यस क्षेत्रका ७० जना ट्याक्सी चालकलाई तालिम प्रदान गरिएको नेपाल पर्यटन बोर्ड, पोखरा कार्यालयका प्रमुख सूर्य थपलियाले जानकारी दिए।
‘पर्यटक राजदूतका रुपमा ट्याक्सी चालक हुने भएका कारण उनीहरूलाई पर्यटनका आधारभूत विषयमा जानकारी हुनु आवश्यक छ,’ उनले भने,‘लेखनाथमा धेरै पर्यटकीय गन्तव्य भएका कारण ट्याक्सी चालकलाई ती स्थल बारेको जानकारी हुनु पनि अपरिहार्य हुन्छ।’
नेपाल पर्यटन बोर्डले लेखनाथ क्षेत्रको पर्यटन प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जानकारी दिँदै थपलियाले बेगनास तालमा पर्यटकलाई लक्षित गरी २५ वटा फलामे बेञ्च राखिएको र यहाँका विभिन्न चार स्थानमा सिसीटिभी क्यामेरा राख्ने तयारी गरिएको बताए।
इलाका प्रहरी कार्यालय, डाँडाको नाकका प्रमुख प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले यस किसिमको तालीमले ट्याक्सी चालकमा पर्यटकसँग गर्ने व्यवहार, पर्यटकीय स्थलबारेको जानकारीलगायतमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे।
लेखनाथ होटल व्यवसायी संघका अध्यक्ष कृष्ण तिमल्सिनाले लेखनाथमा पर्याप्त पर्यटकीय स्थल भएर पनि यिनीहरूको प्रचारप्रसार हुन नसकेको बताए।
सात तालको बगैँचा शहरका रुपमा परिचित लेखनाथमा रहेका सात तालका साथै विभिन्न रमणीय पर्यटकीयहरु स्थल छन्। लेखनाथका सात तालसहित माछापुच्छ्रे, अन्नपूर्णलगायतका हिमशृंखला एवम् पोखराको एकसाथ अवलोकन गर्न सकिने भरतपोखरीका हुँडिकोट, मल्लकालीन कोटभैरव मन्दिर, बेगनासकोट, अर्घौँ अर्चले, कालिकास्थान, सिलिङ्गेलगायतका धेरै पर्यटकीय स्थल आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा परेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।