काठमाडौं- निर्वाचन आयोगले चुनावको आचारसंहिताबारे सबै दलका प्रतिनिधिहरूसँग आइतबार छलफल गर्दैछ। निर्वाचन आचारसंहिताको मस्यौदा तयार पारिसकेको र त्यो मस्यौदाबारे राजनीतिक दलहरूसँग छलफल गर्न लागिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
आचारसंहिताको मस्यौदामा राय, परामर्श लिन बिहान ११ बजे दलहरूलाई बोलाइएको उनले जानकारी दिए। छलफलका लागि आयोगले नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवासहित सबै पार्टीका अध्यक्ष तथा सभापतिहरूलाई बोलाएको छ।
दलहरूसँग छलफल गरिसकेपछि निर्वाचन आचारसंहिता सार्वजनिक गर्ने आयोगले जनाएको छ। सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते निर्वाचन मिति तोकेको छ।
प्रतिनिधि सभा विघटनसँगै नेकपा राजनीतिक रूपमा विभाजित भएको छ। एउटा खेमाको नेतृत्व प्रधानमन्त्री ओलीले र अर्को खेमाको नेतृत्व प्रचण्ड-माधवकुमार नेपालले गरेका छन्। दुवै पक्षले आधिकारिक नेकपा आफूहरू नै रहेको दाबी गर्दै आए पनि निर्वाचन आयोगले आधिकारिकताको विवाद टुंगो लगाउन सकेको छैन।
प्रचण्ड–माधव पक्षका नेता मुक्ति प्रधानले आफूहरू पनि आयोग जाने बताए। उनले आयोग पुगेर आफ्ना कुरा प्रष्ट राख्ने बताए। ‘पार्टीले गएर आफ्नो कुरा राख्ने भनेको छ। हामी आफ्ना कुरा स्ट्रङ्ली राख्छौं’, प्रधानले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।