काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई साता युद्धविरामको सहमति गरेको समाचार सार्वजनिक भएलगत्तै विश्व बजारमा कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको छ।
बुधबार अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लुटीआई) कच्चा तेलको मूल्य प्रति ब्यारेल करिब २० डलरले घटेको छ। ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज तत्काल र सुरक्षित रूपमा खोल्ने सर्तमा युद्धविराम गर्न राजी भएको बताएपछि लगानीकर्ताहरूले राहत महसुस गरेका हुन्।
मे महिनाका लागि डेलिभरी हुने डब्लुटीआई क्रुडको मूल्य १८.१० डलर अर्थात् १६.०२ प्रतिशतले घटेर प्रति ब्यारेल ९४.८५ डलर कायम भएको छ। कारोबारका क्रममा यो मूल्य ९१.०५ डलरसम्म झरेको थियो, जुन मार्च २६ पछिको सबैभन्दा न्यून स्तर हो।
ट्रम्पले इरानलाई दिएको समयसीमा सकिनु केही समयअघि मात्रै यो घोषणा गरेका थिए। यसअघि उनले इरानले जलमार्ग नखोलेमा त्यहाँको नागरिक पूर्वाधारमाथि भीषण आक्रमण गर्ने र ‘आज राति एउटा पूरै सभ्यता समाप्त हुने’ चेतावनी दिएका थिए।
रानका विदेशमन्त्री अब्बास अराघाचीले पनि बुधबार एक विज्ञप्ति जारी गर्दै यदि इरानमाथिका आक्रमणहरू रोकिएमा आफूहरूले पनि हमला बन्द गर्ने स्पष्ट पारेका छन्। उनले इरानी सशस्त्र बलको समन्वयमा दुई हप्ताका लागि स्ट्रेट अफ हर्मुजबाट सुरक्षित आवतजावत सम्भव हुने बताएका छन्। विश्वको कुल तेल आपूर्तिको २० प्रतिशत हिस्सा यही जलमार्गबाट ओसारपसार हुने भएकाले यसको बन्दले विश्व अर्थतन्त्रमै गम्भीर संकट निम्त्याएको थियो।
इरानसँगको युद्धका कारण मार्च महिनामा मात्रै तेलको मूल्य इतिहासमै सबैभन्दा तीव्र गतिमा ५० प्रतिशतभन्दा बढीले बृद्धि भएको थियो। राष्ट्रपति ट्रम्पले इरानबाट १० बुँदे प्रस्ताव प्राप्त भएको र त्यसलाई वार्ताको राम्रो आधार मान्न सकिनेसमेत बताएका छन्। उनले दीर्घकालीन शान्तिका लागि दुवै पक्ष सहमति नजिक पुगेको दाबी गरे पनि बजार विश्लेषकहरूले भने अझै धेरै प्राविधिक र राजनीतिक विषयहरू सुल्झिन बाँकी रहेको टिप्पणी गरेका छन्।
यो प्रारम्भिक कदमले स्थायी शान्तिको बाटो खोल्ने आशा जगाएपनि युद्धविरामको पूर्ण कार्यान्वयनमा अझै धेरै चुनौतीहरू भने बाँकी नै छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।