काठमाडौं- नेपाली कांग्रेसले उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा आयात–निर्यात सहज बताउनका लागि तत्काल पहल गर्न सरकारसँग माग गरेको छ।
चीनको वुहानबाट कोरोना भाइरसको संक्रमण फैलिएलगत्तै अन्तर्राष्ट्रिय सीमानाकाहरूमा प्रवेशमा कडाई र आवागमन बन्द समेत गरिनु तत्कालको परिस्थितिको बाध्यता र आवश्यकता भएपनि अहिलेसम्म नाका सहज नहुनु दुःखद् भएको कांग्रेसको भनाइ छ।
‘तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सीमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीहरूले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको हुँदा नेपाली कांग्रेस यसप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।
केरुङ नाका अघिल्लो वर्ष माघ १५ देखि यो वर्षको असार २७ सम्म पूर्ण रूपले बन्द भएको थियो। त्यसपछि सामान ढुवानी आंशिक खुला गरिएकोमा हाल दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सीमामा अलपत्र परेको कांग्रेसको भनाइ छ।
‘यसबाट एकातर्फ नेपाली व्यवसायीहरू मर्कामा परेका छन् भने अर्कातर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको छ। अतः चीनिया पक्षसँग यथाशीघ्र संवाद गरेर समस्याको समाधान खोज्न नेपाली कांग्रेस नेपाल सरकारसमक्ष माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।