हेटौंडा- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेकपाभित्र देखिएको झगडा सिद्धान्तको नभई पद, कुर्सी र भागबन्डाको झगडा भएको बताएका छन्। बिहीबार मकवानपुरको मनहरी गाउँपालिकाको रजैयामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले देश निर्माणको विषयमा केन्द्रित हुनुपर्ने समयमा कुर्सी र शक्तिको निमित्त झगडा गरेर मुलुकलाई बर्बादिको अँध्यारो सुरुङ्गमा फसाएकोमा आक्रोश व्यक्त गरे।
नेकपा र नेपाली कांग्रेसको असफलताले भ्रष्टाचार र कुशासनको दलदलमा मुलुक भासिएको चर्चा गर्दै थापाले प्रमुख प्रतिपक्षी दल कांग्रेस किङ्कर्तव्यविमुख र निरीह रहेको समेत बताए। मुलुकमा अहिले भ्रष्टाचार, कुशासन, धर्मपरिवर्तन र बेरोजगारी समस्या डरलाग्दो महारोगको रुपमा देखिएको बताउँदै थापाले भने‚ ‘लोकतन्त्रको लागि अब कहिल्यै लड्नुपर्दैन, राजा हटाएसी लोकतन्त्र मजबुत हुन्छ भन्नेहरू नै आज लोकतन्त्रमाथि खतरा भयो भन्दै कराउँदै हिँडेका छन्।’
राजसंस्था विकास र प्रजातन्त्रको बाधक नभएको भन्दै थापाले व्यवहार र चरित्रमा प्रजातान्त्र झल्कनुपर्नेमा जोड दिए। धतुरो रोपेर आँप नफल्ने भन्दै थापाले ०६२/०६३ को आन्दोलनको मार्गचित्र त्रुटिपूर्ण भएको जिकिर गरे। राप्रपालाई कांग्रेस‚ कम्युनिस्टको विकल्पको रुपमा राष्ट्रवादी शक्ति बनाउनको निमित्त संगठन सुदृढीकरण अभियानमा केन्द्रित हुन थापाले आग्रह गरे।
कार्यक्रममा बोल्दै केन्द्रीय कार्यसम्पादन समितिका सदस्य मधु अधिकारीले सत्ताको छिनाझप्टिले मुलुक र जनताले दुःख पाउनु दुर्भाग्यपूर्ण भएको विचार व्यक्त गरे। कार्यक्रममा नेताहरू रामहरि न्यौपाने, बालकुमारी डल्लाकोटी, शुक्र प्रजा, नरहरी सुवेदी, मनोज थापा, सर्वसिंह मोक्तानलगायतले बोलेका थिए। बिहीबार हेटौंडा-९ मा आयोजित कार्यक्रमलाई पनि थापाले सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।