काठमाडौं- वर्तमान संसदीय व्यवस्थाले जनताको समस्या समाधान हुन नसक्ने वामधारका चार दलले जनाएका छन्।
उनीहरूले जारी गरेको रणनैतिक संयुक्त मोर्चाको अवधारणामा राष्ट्रियता,जनतन्त्र र जनजीविकाका मुद्दामा निरन्तर जनपरिचालन र संघर्ष आवश्यकता रहेको औंल्याइएको छ। चार वाम घटकको मोर्चा गठनलाई कम्युनिस्ट धारको ध्रुविकरण र पार्टी एकताको आधार बनाइएको छ।
चार दलको रणनैतिक संयुक्त मोर्चा केन्द्रसहित प्रदेश, जिल्ला र आवश्यकता अनुसार स्थानीय तहसम्म गठन गरिने संयुक्त अवधारणामा भनिएको छ। केन्द्र र प्रदेश समिति १५ सदस्यीय र जिल्लामा ११ सदस्यीय हुने बताइएको छ। पदाधिकारी सहमतिको आधारमा आलोपालो विधिमार्फत् हुने भएको छ। प्रत्येक समितिमा अध्यक्ष र सचिव १/१ पदाधिकारी रहनेछन्।
रणनैतिक संयुक्त मोर्चाको अवधारणामा नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य, नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका संयोजक आहुतिले हस्ताक्षर गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।