काठमाडौँ- नेपाल महिला संघमा केही दिनअघि गरिएको पदाधिकारी र सदस्यको मनोनयनमा विवाद देखिएको छ। संघकी अध्यक्ष उमा रेग्मीले बैसाख २८ गते गरेको केन्द्रीय पदाधिकारी र सदस्यको मनोनयनप्रति संघका महासचिव धना खतिवडाले विज्ञप्तिमार्फत असहमति प्रकट गरेकी हुन्।
महासचिव खतिवडाले महाधिवेशनबाट नेतृत्व चयन भएको करिब दुई वर्ष ढिला गरी भएको मनोनयन आफैंमा सुखद हुनुपर्ने भए पनि यो महिला संघको सांगठनिक जीवनका लागि सुखद हुन नसकेको उल्लेख गरेकी छन्।
संघको विधान उल्लेख गर्दै अध्यक्ष रेग्मीले केन्द्रीय समितिमा सामान्य छलफलसमेत नगरी मनोमानी ढंगले मनोनयन गरेर संघमा विग्रह र विद्वेषको वातावरण सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ। 'अध्यक्षले गरेको पदाधिकारी मनोनीत सिंगो नेपाली महिला आन्दोलन, महिला संघ र समग्र पार्टीको हितमा छैन भन्ने हाम्रो ठहर हो। तीन वटै चरणका निर्वाचनमा पार्टीले हार बेहोरेको अवस्थामा हामी सबै एकजुट भई पार्टी हितमा लाग्नुपर्ने बेलामा अध्यक्षको मनोमानीले संगठनलाई थप क्षति पुर्याने पक्का छ,' विज्ञप्तिमा उल्लेख छ।
मनोनयनको निर्णय पुनःविचार गरी सामूहिक आधारमा विधिसम्मत ढंगले निर्णय गर्न माग गर्दै अध्यक्षको एकलौटी र मनोमानी निर्णयको पुनःविचार नभए यसले संघको सांगठनिक जीवनमा हुने क्षतिको जिम्मेवार स्वयं अध्यक्ष नै हुने उनले चेतावनी दिएकी छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।