काठमाडौं- काठमाडौंको बालुवाटारस्थित् ११३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न भएको आरोपको मुद्दामा भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङसँग विशेष अदालतले २ करोड रूपैयाँ धराैटी माग गरेकाे छ।
बुधबार अदालत हाजिर भएका गुरुङसँग विशेषले २ करोड धराैटी माग गरेकाे हो। धराैटीमा रकम बुझाएमा गुरुङ रिहा हुनेछन् भने बुझाउन नसकेमा उनी पुर्पक्षका लागि थुनामा जानेछन्।
न्यायाधीशहरु प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासमा भएको थुनछेक बहसपछि गुरुङसँग धराैटी मागिएको हो।
गुरुङ परिवारका नाममा २०७६ फागुन २३ गते १५ दिने म्याद जारी भएको थियो। अख्तियारले विशेष अदालतमा दायर गरेको आरोपपत्रअनुसार बालुवाटारको सरकारी जग्गाको गैरकानूनी किनबेचमा व्यवसायी गुरुङसँगै उनको छोरा कल्याण गुरुङ‚ छोरी तथा सहोदर भाइ र बुहारीसमेतको संलग्नता रहेको पाइएको थियो।
गुरुङका छोरा कल्याण, छोरी कामना, भाइ पहलमान र भाइबुहारी सरला गुरुङले सरकारी जग्गा कीर्ते गरी बेचबिखन गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख गरिएको छ।
८ जनालाई बेचेका थिए मीनबहादुरले जग्गा
अख्तियारका अनुसार गुरुङले बालुवाटारस्थित ललिता निवासभित्र रहेका जग्गा ८ जनालाई बिक्री गरेका थिए। जग्गा खरिद गरेका व्यक्तिहरू अभिताभ तुलाधर, नुतन श्रेष्ठ, डिम्पल वंशल, सरिता मानन्धर, नितु गुरुङ, प्रवीण ताम्राकार, भारती पाण्डे र अच्युतराज श्रेष्ठले गुरुङबाट बालुवाटारमा जग्गा किनेको बयान दिएका छन्।
अख्तियारलाई दिएको बयानमा गुरुङले भाटभटेनी सुपर स्टोरका नाममा बालुवाटारमा विभिन्न व्यक्तिबाट खरिद गरेको बताएका छन्। उनले केही कित्ता जग्गा प्रधानमन्त्री निवास विस्तारका क्रममा मन्त्रिपरिषदको निर्णयबाट सट्टाभर्नाबाट आएको पनि बयानमा उल्लेख गरेका छन्।
’मेरो नाममा बालुवाटारमा कित्ता नं ४७५, ४६९, ४९०, ४८३ जग्गा रहेको छ। ती जग्गाहरु मिनबहादुर गुरुङ, कुमार रेग्मी, चमेली श्रेष्ठ र अगम ढुंगानाबाट डोरबाट कान्तिपथमा बसी २०६४ साउन ६ गते जम्मा जग्गा ६ आना २ पैसामात्र २८ लाख ९९ हजार ५६ मा लिएको हो। उक्त जग्गाहरु सरकारी हुन् भनेर जानकारी थिएन,’ उनले बयानमा भनेका थिए।
बालुवाटार जग्गा किनबेचमा मुछिएका मीनबहादुरका भाइ पहलमान गुरुङकी श्रीमती सरला पनि यो मुद्दामा फसेकी छन्। सरलाले बैकुण्ठ शर्मा रेग्मीबाट जग्गा किनेको भए पनि कति रकममा किनेको हो थाहा नभएको बयान अख्तियारसमक्ष दिएकी छन्।
सर्वोच्चले बयानका क्रममा जग्गा फिर्ता गर्न राजी भएकाले नेकपा महासचिवपुत्र नवीन पौडेल र सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीमाथि मुद्दा चलाउनु नपर्ने भनेको थियो। तर‚ न्यायाधीश रेग्मी र भाटभटेनीका सञ्चालक गुरुङ मिलेर ओमवीरमान ताम्राकारलाई जग्गा बेचेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।