काठमाडौं- नेकपा केपी शर्मा ओली पक्षले माघ २३ गतेको आमसभा नारायणहिटी दरबार अगाडि गर्ने भएको छ। प्रदेशस्तरको आमसभा भएकाले बागमती प्रदेशका १३ जिल्लाबाट जनता आमसभामा सहभागी गराइने ओली पक्षका केन्द्रीय सदस्य आनन्द पोखरेलले बताए। सभा नारायणहिटी दरबारको दक्षिण दरबारमार्गतर्फ गरिने उनले बताए।
सभाका लागि २ लाख जनता सडकमा उतार्ने ओली पक्षको दाबी छ। नारायणहिटी दरबार अगाडि गर्न थालेको आमसभालाई पूर्वराजासँग जोडेर आमजनताको ध्यान अर्कैतिर मोड्न विपक्षले हल्ला चलाउन खोजेको उनको भनाइ छ।
२३ गतेको आमसभा नारायणहिटी अगाडि गर्ने विषयलाई ‘पाखण्डपनको बदलाव’ भएको पोखरेलले प्रतिक्रिया दिए। आमसभाका लागि काठमाडौंका विभिन्न १० स्थानबाट जुलुस निकालिने उनले बताए।
जसमा माइतीघर, रत्नपार्क, पुतलीसडक, नेपाल वायू सेवा निगम अगाडि, कालिमाटी, लैनचौर, ठमेललगायत क्षेत्रबाट जुलुस निकालिने पोखरेलले बताए।
‘आमसभामा हामीले मुख्य चार विषयमा जनतालाई प्रस्ट पार्ने छौं’ पोखरेलले भने, ‘सरकार र पार्टीका विषयमा अरुले छरेको भ्रम चिर्ने, राष्ट्रियता सार्वभौम सत्ताका विषयमा प्रष्ट पार्ने, कम्युनिस्ट आन्दोलनमा आएको विचलन र चुनाव हुन लागेकाले तयार हुन अपील गर्ने छौं।’
आमसभा २३ गते दिउँसो १२ बजेदेखि सुरु हुने भएको छ। यसअघि प्रचण्ड–नेपाल पक्षले माघ ९ गते भृकुटीमण्डप नजिकको सडकमा आमसभा गरेका थिए। त्यस आमसभालाई लक्षित गर्दै ओलीले आमसभा कस्तो हुन्छ भन्ने २३ गते देखाउँछाैं भनेका थिए। ओली पक्षले २३ गते आमसभा गरे लगत्तै प्रचण्ड–नेपाल पक्षले त्यसलाई ‘काउन्टर दिन’ माघ २८ गते कार्यक्रम गर्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।