फाइल तस्बिर।
काठमाडौं- नेकपाको प्रचण्ड–माधव पक्षले केन्द्रीय कमिटीको बैठक बोलाएको छ। बैठक भोलि, सोमबार बिहान ११ बजे कार्की ब्यांक्वेटमा बस्ने केन्द्रीय सदस्य श्रीराम ढकालले बताए।
प्रतिनिधि सभा विघटनविरुद्ध संघर्ष गरिरहेको यो समूहले अहिलेसम्मको आन्दोलनको समीक्षा र भावी कार्यक्रमका विषयमा केन्द्रीय कमिटीमा छलफल गर्ने जनाएको छ।
माघ ९ गते काठमाडौंमा जनसभा गरेको प्रचण्ड–माधव पक्षले फेरि माघ २८ गते काठमाडौंमै सभा गर्ने तय गरिसकेको छ। माइतीघरमा बुधबारदेखि जारी धर्ना भने आज अन्त्य गरिएको छ।
यो समूहले यसबीचमा बुटवल, विराटनगर र धनगढीमा जनप्रदर्शन गरेको थियो। सभालाई अध्यक्षद्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सम्बोधन गरेका थिए।
प्रचण्ड–माधव पक्षले आफूसँग केन्द्रीय कमिटीका बहुमत सदस्य, २९७ जना रहेको दाबी गरेके छ। २९७ सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोगमा पत्र समेत बुझाइएको थियो।
नेकपाभित्र आधिकारिकताको विवाद बढेपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षले पनि आयोगमा पत्र बुझाएको थियो। यो समूहले केन्द्रीय कमिटीको संख्या १५०१ पुर्याएको थियो।
तर, आयोगले दुवै पक्षका निवेदन खारेज गर्दै नेकपा नफुटेको र प्रचण्ड–ओली नै अध्यक्ष भएको निर्णय सुनाइसकेको छ। आयोगको यो निर्णयपछि अब कसरी अगाडि बढ्ने भन्ने विषयमा समेत प्रचण्ड–माधव पक्षले भोलिको केन्द्रीय कमिटी बैठकमा छलफल गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।