काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली पक्षका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा नफुटेको दाबी गरेका छन्। उनले नेकपाबाट केही मान्छे बाहिरएको मात्र टिप्पणी गरे। शनिबार चितवनमा आयोजित आफू पक्षको भेलालाई सम्बोधन गर्दै ओलीले केही मान्छे बाहिरिँदैमा नेकपालाई केही फरक नपर्ने बताए।
जीवन शर्माको गीत स्मरण गर्दै ओलीले पिलो निचोर्दैमा शरीरको तौल नघट्ने दोहोर्याए। ‘तपाईंहरूलाई पार्टी फुट्यो भनेर चिन्ता लागेको हो। पार्टी फुटेको होइन, केही मान्छे बाहिर गएका हुन्। पार्टी एकढिक्का छ। एकजुट छ’, ओलीले भने।
ओलीले पार्टीभित्र शुद्धिकरण आवश्यक रहेको पनि बताए। उनले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई लक्षित गर्दै पार्टीभित्रबाट निस्केर गएको टिप्पणी गरे।
‘नेकपा एकढिक्का छ। नेकपाको सबै धारको नेतृत्वकर्ता हामी हौं। मुलधार हामी हौं’, उनले भने, ‘केही मान्छे निचोरिएर गएका छन्। हामीले निचोरको पनि होइन, आफैं निचोरिएर गए।’
उनले आफूले प्रतिनिधि सभा निर्वाचनका लागि चितवन पुगेर प्रचण्डका लागि भोट मागेका पनि स्मरण गरे। ‘मैले माडीलाई मणि बनाउँछु भनेर भोट मागेको थिएँ। जसका लागि भोट मागेँ, उही मान्छे मणि होइन कुहिएको आलुजस्तो निस्किएपछि के लाग्छ ?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।