शुक्रबार विराटनगरमा आयोजित सभामा सहभागीहरू।
काठमाडौं- नेकपाको प्रचण्ड–माधव पक्षले आज, शनिबार कैलालीको धनगढीमा विरोध सभा गर्दैछ। प्रतिनिधि सभा विघटनविरुद्ध प्रदेशस्तरमा समेत ठूला सभा गर्दै आएको यो समूहले आज धनगढीमा सभा गर्न लागेको हो।
दिउँसो १ बजे हुने सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल तथा सुदूरपश्चिम इञ्जार्ज भीम रावल लगायतका नेताहरूले सम्बोधन गर्नेछन्। उनीहरू धनगढी पुगिसकेका छन्।
सभामा सहभागी हुन डोटी, दार्चुला, बैतडी, बझाङ र अछाम लगायतका पहाडी जिल्लाबाट समेत नेता/कार्यकर्ताहरू धनगढी पुगिसकेका प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्य विष्णु रिजालले बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि यो समूह आन्दोलनमा उत्रिएको छ। बिहीबार बुटवल र शुक्रबार विराटनगरमा सभा गरेको यो समूहले आज धनगढीमा सभा गर्न लागेको हो।
यसअघि माघ ९ गते काठमाडौंमा विशाल जनप्रदर्शन गरेको प्रचण्ड–माधव पक्षले फेरि माघ २८ गते काठमाडौंमा सभा गर्ने तय गरिसकेको छ। विरोधका कार्यक्रममा अन्तर्गत माइतीघरमा माघ २१ गतेसम्मका लागि साताव्यापी धर्ना पनि जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।