काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले प्रतिनिधि सभा विघटनपछि सत्ता लोभमा परेका भनी आरोप लागेका कतिपय कांग्रेस नेताहरूलाई ‘लड्डु कांग्रेस’को संज्ञा दिएका छन्। उनले त्यस्ता नेताका कारण कांग्रेसमाथि प्रश्न उठेको बताए।
‘प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको बेला इतिहासले नेपाली कांग्रेस के गर्दैथ्यो भनेर प्रश्न गर्नेछ। त्यो बेलामा नेपाली कांग्रेसले भन्न पाउँछ, प्रधानमन्त्रीको कदमलाई असंवैधानिक हो भनेर ढक्क उभिएको थियो भनेर भन्न पाउँछ’, उनले भने, ‘तर, भन्न पाउने हक र अधिकारलाई हाम्रै केही साथीहरूले अलमल्याइदिनुभएको छ। ‘लड्डु कांग्रेस’हरु मैदानमा आउनुभएको छ। यो हातमा पनि लड्डु, त्यो हातमा पनि लड्डु। लड्डु कांग्रेसहरूको कारणले गर्दा आज कांग्रेसमाथि नै प्रश्न उठेको छ।’
थापाले त्यस्ता प्रश्नलाई पनि भोलि उठ्न नसक्नेगरी थेचारेर आफूहरु अगाडि बढ्नुपर्ने बताए। उनले प्रधानमन्त्रीलाई नेपालको संविधानले प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको बताए। प्रधानमन्त्रीले भारत र बेलायतको उदाहरण लिँदै त्यस्तो अधिकार आफूमा भएको बताउने गरेकोमा उनले त्यतैतिर जान सुझाव पनि दिए।
‘दुई वर्ष अविश्वास प्रस्तावको बारेमा जब प्रधानमन्त्री निर्धक्क भएर बस्नुभयो। त्यो बेला नेपालको संविधान सिरानी राख्ने। अनि आज यो संविधानले प्रतिनिधि सभा विघटन गर्न दिएन। अनि भारतको संविधानले यसो भन्छ, बेलायतको संविधानले यसो भन्छ भन्ने? त्यसो भए भारत जानुस्। त्यसो भए बेलायत जानुस्।’
थापाले यो नेपाल हो र यहाँ नेपालको संविधान लाग्ने स्मरण गराए। ‘नेपालको संविधानमा बहुमत प्राप्त प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउने कुरा लेखिएको छैन’, उनले भने। उनले प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटनको अधिकार छैन भनेर भन्दै गर्दा अदालतको अवहेलना नहुने बताए।
‘संविधानमा नलेखिएको संसद् विघटन गलत हो भन्दै गर्दा नेपालको प्रधानमन्त्रीले विधिको शासनमा विश्वास गर्नुहुन्न। सेटिङको शासनमा विश्वास गर्नुहुन्छ भनेर कसैले भन्दै गर्दा अदालतको अवहेलनाको मुद्दा लाग्छ भने अवहेलनाको मुद्दा हामी सबैलाई लगाइयोस् श्रीमान्। हामी सबैले मुद्दा खेप्न तयार छौं’, उनले भने।
थापाले न्यायको पक्षमा बोल्दै गर्दा अदालतको अपमान नहुने जिकिर गरे। ‘हामी अदालतको मान बढाउन चाहन्छौं। अदालतको शान बढाउन चाहन्छौं। सर्वोच्च अदालत भन्ने नाम संविधानले दिएको हो। तर, सर्वोच्च अदालतप्रतिको सर्वोच्च विश्वास अदालतले आर्जन गर्नुपर्छ। न्यायबाट आर्जन गर्नुपर्छ। फैसलाबाट आर्जन गर्नुपर्छ। न्याय गरेको देखिनुपर्छ। त्यसका निम्ति हामीहरु बोलिरहेका छौं’, उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।