काठमाडौं– नेपाली कांग्रेसका नेता प्रदीप गिरिले विप्रेषण (रेमिट्यान्स)बाट चलेको नेपालको अर्थव्यवस्था कुनै पनि दिन ध्वस्त हुने बताएका छन्।
संसद् बैठकमा जारी बजेटको विनियोजन सिद्धान्तमाथिको छलफलमा नेता गिरिले अहिलेको नेपाली अर्थव्यवस्था संवेदनशील अवस्थामा रहेको टिप्पणी गरे।
‘विप्रेषणले धानेको र कृषिको योगदान नभएको अहिलेको अर्थव्यवस्था हेर्दा मैले लामो समय यो टिक्ने देखेको छैन’, सांसद गिरिले भने, ‘रोजगारी दिएको देशले नाकाबन्दी गरेमा, कामदार लिन बन्द गरेमा वा रोजगार खोसिएको अवस्थामा अर्थतन्त्र कसरी सञ्चालन हुन्छ?’
विदेशीले बनाएको सिद्धान्तकै आधारमा बजेट निर्माण हुन लागेको भन्दै सांसद गिरिले नेपालमा आफैंले सिद्धान्त निर्माण नगरी विदेशीको भर पर्ने गरिएकाले समस्या निम्तिएको उनको भनाइ छ।
‘बेलायतमा जन्मेका एडम स्थितले अर्थशास्त्रको यस्तो सिद्धान्त लेखे’, उनले भने ‘त्यो नेपालका लागि कामलाग्दो छ वा छैन भन्ने खोजी नै गरिएन।'
उनले नेपालको सन्दर्भमा गाउँमा लगानी गर्ने नीति लिनुपर्नेमा जोड दिए। शहर दलाल र पुँजीपतिको बसोबास हुने क्षेत्र भएकाले गाउँमा बजेट लगानी गरी श्रम गर्ने मानिसलाई सुविधा दिने नीति लिनुपर्नेमा उनले जोड दिए।
‘हामीले विदेशको अर्थशास्त्र पढेर सिद्धान्त बनाएका छौं, नेपालको अर्थतन्त्रबारे कसैले लेखेको पाएको छैन’, गिरिले भने, ‘हामीले गाउँलाई प्राथमिकता दिने मोडलमा अब जानुपर्छ। विप्रेषणको बलमा उभिएको अर्थतन्त्र कुनै पनि दिन समाप्त हुन्छ।'
उनले गाउँहरु आर्थिक रुपमा मजबुत भएमा शहर पनि धानिने र अर्थतन्त्र बलियो हुने बताए। शहर दलाल र पुँजीपतिको बसोबास हुने क्षेत्र भएको भन्दै उनले थपे, 'गाउँबाट यथेष्ट उत्पादन हुनसके उनीहरुले उचित मूल्य तिरेर खानेछन् र हाम्रो अर्थव्यवस्था दिगो हुनेछ।’
तराईको उर्वर भूमि रहेको २ नम्बर प्रदेश समेत कृषिको भरमा नचलेको गिरिले बताए।
दोस्रो विश्वयुद्धपछि धेरै देश पराधीन भएको भन्दै नेता गिरिले आर्थिक रुपमा नयाँ मोड समात्न नेपाल पनि चुकेको टिप्पणी गरे।
‘अहिले समृद्ध भएका कतिपय देशहरु विश्वयुद्धपछि अलग्गै अर्थतन्त्र निर्माण गर्न जुटेका थिए’, उनले भने, 'हामीले पनि उक्त समयदेखि नै अलग्गै अर्थतन्त्र निर्माण गर्नुपर्ने थियो, तर हामी चुक्यौं।'
अब विकासको अवधारणा परिर्वतन हुन जरुरी रहेको औंल्याउँदै उनले मुलुकको उन्नतिको एकमात्र मापदण्ड आर्थिक वृद्धिदर मात्र हुन नहुने उनले बताए। बजेटको प्राथमिकता हेर्दा उच्च आर्थिक वृद्धिदर हासिल हुने भनेर जोड दिइएको भन्दै उनले सुझाए, 'समानता ल्याउन पनि बजेट छुट्याउन म अर्थमन्त्रीलाई आग्रह गर्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।