काठमाडौं- निर्वाचन आयोगले निर्वाचनका लागि ८४ दिन भए पुग्ने बताएको नेकपाका ओली पक्षका नेता सुवास नेम्वाङले बताएका छन्। शुक्रबार आयोगमा भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले तोकिएको समयमा निर्वाचन हुने बताए।
‘निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरूले एक मिनेट ढिला हुँदैन। हामीसँग पर्याप्त समय छ। निर्वाचन तयारीका लागि हामीलाई ८४ दिनजति भए पुग्नेमा अहिले ९०/९१ दिन छ भन्नुभयो’, नेम्वाङले बताए।
उनले कुनै पनि कारणले अलिकति पनि ढिला नगर्ने र समयमा निर्वाचन सम्पन्न गर्ने निष्कर्षमा आफूहरू पुगेको बताए। अदालतले अन्तिममा अन्यथा आदेश गरेछ भने अर्कै कुरा, होइन भने आयोग लगायत सबैले निर्वाचनमा लाग्नुको विकल्प नभएको नेम्वाङले बताए।
उनले आफूहरुको त्यही बुझाइ निर्वाचन आयोगसमक्ष राखेको बताए। आयोगलाई तदारुकताका साथ आफ्नो तयारी अगाडि बढाउन, दल दर्ताको प्रक्रियालाई पनि अगाडि, अहिलेसम्म निर्वाचनको जे जस्तो तयारी गरिएको छ त्यो राम्रो भएको भनेको नेम्वाङले बताए।
शुक्रबारको छलफलमा नेकपाको दुवै पक्षलाई बोलाइएको थियो। तर, पुष्पकमल दाहाल र माधवकुमार नेपालले नेतृत्व गरेको पक्ष भने सहभागी भएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।