काठमाडौं- नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपाल पक्षका नेताहरू निर्वाचन आयोग पुगेपनि छलफल नगरी फर्किएका छन्। दल दर्ता र निर्वाचनको तयारीका विषयमा छलफल गर्न आयोगले आज नेकपाको दुवै पक्षलाई बोलाएको थियो।
आयोगले अध्यक्ष वा अध्यक्षले तोकेका व्यक्तिलाई छलफलका लागि आउन भनेको थियो। तर, नेकपाको एक पक्षको नेतृत्व गरिरहेका पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल दुवै काठमाडौं बाहिर छन्। उनीहरू छलफलमा आफैं सहभागी हुन चाहेकाले यो पक्षका नेता आयोगलाई जानकारी मात्र गराएर फर्किएका हुन्।
‘पार्टी अध्यक्ष माधव कुमार नेपाल र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै अध्यक्ष माघ १८ गतेसम्म उपत्यका बाहिरका राजनैतिक कार्यक्रममा व्यस्त रहनु भई प्रतिनिधि मनोनयन गर्ने अवस्था नभएको र उक्त छलफलमा अध्यक्ष स्वयं उपस्थित भई छलफल गर्न चाहनुभएको हुँदा सोको लागि आज तोकिएको समयमा उपस्थित हुन सम्भव हुन नसकेको व्यहोरा अवगत गराउन चाहन्छु’, नेकपाका कार्यालय सचिव श्रीराम ढकालद्वारा आयोगलाई जानकारी गराइएको पत्रमा भनिएको छ।
सो पक्षबाट राजेन्द्र पाण्डे, लिलामणि पोखरेल र मुक्ति प्रधान पुगेका थिए। तर, आयोगको छलफलमा नबसी बाहिरिएका थिए। ओली पक्षबाट सुवाष नेम्वाङ, बिष्णु पौडेल लगायतका नेता आयोग पुगेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।