काठमाडौं- नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले उत्तरी र दक्षिणी सीमामा चौकी बनाउने बजेट ल्याउन सरकारसँग माग गरेका छन्।
संसदको बजेट अधिवेशनमा बोल्दै नेता बडुले सधै सीमाक्षेत्रका नेपाली सुरक्षाकर्मीहरु अस्थायी चौकीको भरमा बस्नुपरेकाले सीमा मिच्ने घटनाहरु बारम्बार दोहोरिने गरेको तर्क गरे।
‘कालापानीदेखि लिपुलेकसम्म चौकी छैनन्, अनि किन हुँदैन सीमा अतिक्रमण’, बडूले भने।
भारत र चीनसँग जोडिएका अधिकांश सीमाक्षेत्रमा अस्थायी चौकी मात्र रहेको र त्यस्ता चौकी कतिपय स्थानमा १२ महिना नै सञ्चानल गर्न कठिनाइ हुने भएकाले स्थायी चौकी बनाउन जरुरी भएको उनले बताए।
गाउँपालिकाहरुमा सुरक्षा चौकी समेत नहुँदा बैंकहरु जान नमानेको उदाहरण पेश गर्दै सांसद बडूले यसतर्फ सरकारको ध्यान जानुपर्नेमा जोड दिए।
केन्द्र, प्रदेश, स्थानीय तहका अधिकार र क्षेत्रहरुमा अझै पनि अन्योल देखिएकाले त्यसलाई बजेट अगाडि नै टुङ्गो लगाउनुपर्ने उनको भनाइ छ।
बजेटमा कृषिलाई प्राथमिकता दिनुपर्ने भन्दै युवाहरुलाई कृषिमा उत्साहित हुने कार्यक्रम ल्याउन सुझाव दिए। युवाहरुलाई लगाएर उत्पादन बढाउन नसके रेल ल्याएर मात्र विकास नहुने उनले टिप्पणी गरे।
उत्पादन बढाउनका लागि जग्गा हदबन्दी वा चक्लाबन्दी गर्ने कार्य कानुन बनाएरै पार लगाउनुपर्ने भन्दै बडूले त्यसपछि मात्र रेल खाली नपठाउने सरकारको योजना सफल हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।