कठमाडौं- प्रधानमन्त्री केपी ओली र चार पूर्वप्रधानन्यायाधीश विरुद्ध दर्ता भएको अदालतको अवहेलना निवेदन सुनुवाइका लागि पेशी तोकिएको छ। न्यायाधीश मनोज शर्माको एकल इजलासमा मुद्दाको सुनुवाइ हुन लागेको हो।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन मुद्दामा पटक-पटक अभिव्यक्ति दिएको तथा कानून व्यवसायीहरूलाई होच्चाएको र इजलासमा भइरहेको बहसलाई तमासा भनि टिप्पणी गरेको भन्दै अवहेलना निवेदन दायर भएको थियो।
ओलीले वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई ‘बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाए’को टिप्पणी गरेका थिए। ९४ वर्षीय वरिष्ठ अधिवक्तालाई लक्षित गर्दै गरेको टिप्पणीले समग्र न्यायपालिकामाथि अवहेलना गरेको जिकिर गर्दै वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट निवेदन दर्ता गराएका थिए।
चार पूर्वप्रधानन्यायाधीश विरुद्ध पनि दुई थान निवेदन दर्ता भएका छन्। धनजित बस्नेत र लोचन भट्टराईले पूर्वप्रधानन्यायाधीशहरू अनुपराज शर्मा, मिनबहादुर रायमाझी, कल्याण श्रेष्ठ र सुशीला कार्की विरुद्ध अवहेलना निवेदन दर्ता गराएका थिए।
उनीहरूले प्रतिनिधि सभा विघटन गर्ने ओलीको कदमको विरोध गरेका थिए। संविधानले नदिएको अधिकार प्रयोग गरि प्रतिनिधि सभा विघटन भएको उनीहरूको भनाइ थियो।
त्यस्तै, पूर्वसभामुख दमननाथ ढुङ्गना विरुद्ध पनि दर्ता भएको निवेदनको सुनुवाइका लागि सोही इजलासमा पेशी रहेको छ। सडकबाट न्यायाधीश तान्ने दिन नआओस् भनि दिएको अभिव्यक्तिले विचाराधीन मुद्दालाई प्रभावित पारेको दाबी निवेदनमा गरिएको छ।
अधिवक्ता राजाराम घिमिरेले ढुङ्गना विरुद्ध अवहेलना निवेदन दर्ता गराएका थिए। सर्वोच्चले पहिलो सुनुवाइ गर्दै उनीहरूलाई आफैं वा वारेसमार्फत् सर्वोच्च बोलाउन सक्नेछ। उनीहरूले अदालतको अवहेलना गरेको ठहर भएमा १ वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुन सक्ने कानूनी व्यवस्था रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।