काठमाडौं- नेकपा (प्रचण्ड–माधव पक्ष) को केन्द्रीय संघर्ष समितिको बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बसिरहेको छ।
प्रतिनिधि सभा विघटनविरुद्ध संघर्षमा उत्रिएको प्रचण्ड–माधव पक्षले आन्दोलनका थप कार्यक्रम र अहिलेसम्मका आन्दोलनको समीक्षाका लागि बैठक आयोजना गरेको हो।
यसअघि गरिएको प्रदर्शन र सभाको समीक्षा तथा माघ २८ गते निर्धारित विरोध सभाको तयारीका विषयमा बैठकमा छलफल चलिरहेको नेकपा विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए।
माघ ९ गते काठमाडौंमा प्रदर्शन र सभा गरेको प्रचण्ड–माधव समूहले २८ गते फेरि काठमाडौंमै सभा गर्ने निर्णय यसअघि नै गरिसकेको छ। यो समूहले बुधबारदेखि माइतीघरमा साताव्यापी धर्ना पनि सुरु गरेको छ।

प्रचण्ड–माधव बुटवल जाँदै
यसैबीच, आज बुटवलमा हुने विरोध सभालाई सम्बोधन गर्न दुवै अध्यक्ष, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल बुटवल पुग्ने भएका छन्।
प्रतिनिधि सभा विघटनविरुद्ध नेकपाको यो समूहले प्रदेशस्तरमा पनि प्रदर्शन गरिरहेको छ। यसैअन्तर्गत आज बुटवलमा सभा गरिनेछ भने भोलि विराटनगरमा र शनिबार धनगढीमा सभा तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।