काठमाडौं- नेपालमा कोभिड-१९ विरुद्धको खोप लगाउन सुरु भएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरराज भण्डारीले पहिलो खोप लगाएका छन्।
उनले खोप लगाएपछि खुशी लागेको बताए। उनले भने, ‘यो पनि इन्फ्लुएन्जा खोप जस्तै हो। डराउनुपर्ने कुरा छैन। त्यसैले खोप लगाउनु पूर्व पनि र लगाएपछि खुशी नै छु। स्वास्थ्यकर्मी लगायत सबैले उत्साहित भएर खोप लगाउनुहोस् भन्न चाहन्छु।’
अस्पतालकै डा. अनुप बास्तोलाले पनि खोप लगाइसकेका छन्।

सरुवा रोग नेपालको पहिलो कोभिड अस्पतालका रुपमा सञ्चालित थियो। टेकु अस्पतालले हालसम्म ९०० कोरोना संक्रमितको उपचार गरिसकेको छ। तीमध्ये ४४ जनाबाहेक सबै निको भएर घर फर्किसकेका छन्।
अस्पतालमा करिब ५५ हजार जनाको पीसीआर परीक्षण गरिएको छ। तीमध्ये ८ हजार जनालाई कोरोना संक्रमण पोजिटिभ देखिएको अस्पतालले जानकारी दिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै खोप अभियानको शुभारम्भ गरेका हुन्। आज देशभरका ६६ वटा जिल्लाका करिब १२० खोप केन्द्रबाट खोप खोप लगाइँदैछ।

सरकारले पहिलो चरणमा कोभिड विरुद्ध खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शव वाहन चालक, सरसफाइकर्मी गरी ४ लाख ३० हजार बढीलाई कोभिड विरुद्धको खोप लगाउँदैछ।
प्रदेश १ को पाँचथर, ताप्लेजुङ्ग, खोटाङ, ओखलढुंगामा १५ गते र सोलुखुम्बु र संखुवासभामा १६ गते र लुम्बिनी प्रदेशको पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम पूर्व, रोल्पा,प्युठानका जिल्ला अस्पतालहरुमा १७ गते खोप अभियान सञ्चालन हुने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।