काठमाडौं– प्रचण्ड–माधव पक्षीय नेकपाका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीबीच भेटवार्ता भएको छ। नेता नेपाललाई भेट्न राजदूत बेरी बुधबार बिहान नेपाल निवास कोटेश्वर पुगेका थिए।
भेटका क्रममा राजदूत बेरीले अमेरिकाका नयाँ राष्ट्रपति जो बाइडेनका प्रमुख प्राथमिकताबारे जानकारी गराएका अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले नेपाल लाइभलाई बताए।
राजदूत बेरीले बाइडेन प्रशासन जलवायु परिवर्तन‚ आणविक प्रसार‚ साइबर युद्ध‚ कोभिड–१९ जस्ता कुनै मुलुकले एक्लै सामना गर्न नसक्ने साझा चुनौतीलाई सम्बोधन गर्न नेपाल र अन्य देशसँग साझेदारी गर्न चाहेको बताएका थिए।
राष्ट्रपति बाइडेनले विश्व स्वास्थ्य सङ्गठनमा अमेरिकाको सदस्यता पुनः निरन्तरता दिने बेरीले जानकारी गराए। उनले अन्तर्राष्ट्रिय संस्थाहरूसँग अमेरिकाको सम्बन्ध पुनर्स्थापना र नेपाललगायत विश्वभरका प्रजातन्त्रिक देशहरूसँगको साझेदारी पुनर्जीवित गर्ने समेत उल्लेख गरे।
बाइडेनले अघिल्लो बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रूपमा शपथ लिएका थिए।
त्यसयता राजदूत बेरीले नेपालका प्रधानमन्त्री र विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग पालैपालो भेट्दै छन्। बुधबार नेता नेपालसँगको भेटमा बाइडेन प्रशासनका प्राथमिकताबारे जानकारी गराएका उनले आवश्यक सल्लाह, सुझाव पनि मागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।