काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक शुरू हुन सकेको छैन। दिउँसो १ बजेका लागि बोलाइएको बैठक २ः४५ बजेसम्म शुरू हुन नसकेको केन्द्रीय सदस्य डिला संग्रौलाले बताइन्।
केन्द्रीय समितिको बैठक बस्नुअघि शीर्ष तहका नेताहरूको बैठक केन्द्रीय कार्यालय सानेपामा बसिरहेको छ। शीर्ष तहका नेताहरू एक घन्टा अघिदेखि बैठक बसिरहेको बताइएको छ। बैठकका लागि केन्द्रीय कार्यालय पुगेका केन्द्रीय सदस्यहरू शीर्ष नेताहरूको निर्णयको प्रतीक्षामा छन्।
प्रतिनिधि सभा विघटन विरुद्ध अर्को चरणको आन्दोलनको पक्षमा संस्थापनइतर समूह छ। तर, कांग्रेस सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसलाको प्रतीक्षामा छ।
विचाराधीन मुद्दामा सडक प्रदर्शन नगर्ने मनस्थिति देउवा समूहको छ। आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने/नगर्ने टुंगो लगाउन शीर्ष नेताहरूको बैठक बसिरहेको बताइएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलका पक्षका नेताहरूले आन्दोलनका पक्षमा सोमबार निर्णय गरेका थिए। महामन्त्री डा. शशांक कोइरालाको निवास महाराजगञ्जमा भेला भई आन्दोलनमा जाने गरी नेतृत्वलाई दबाब दिने आन्तरिक तयारी गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।