काठमाडौं- वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रतिनिधि सभा विघटनविरूद्ध सर्वोच्च अदालतको बहसमा दुई तिहाइ मतका लागि निर्वाचनमा जाने प्रधानमन्त्रीको जवाफलाई 'हिटलर पारा' को टिप्पणी गरेका छन्।
‘संवैधानिक अंगमा नियुक्ति गर्न सकिनँ रे, अर्कोतिर दुई तिहाइ चाहियो रे', थापाले भने, 'दुई तिहाइ, दुई तिहाइ भनिरहनु भएको छ, यो अलि हिटलर पारा भो।'
सत्तामा अरुले आँखा लगाएकाले प्रतिनिधि सभा विघटन गरेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्चमा पेश गरेको लिखित जवाफमा नै उल्लेख रहेको थापाले बताए।
थापाले रेस्लिङकाे बेल्ट बाेकेर प्रधानमन्त्री ओलीले मन लाग्दैमा रेस्लिङ गराउन खाेजेकाे टिप्पणी गर्दै ओलीको मन लाग्दैमा निर्वाचन हुन नसक्ने तर्क गरे।
उनले प्रधानमन्त्री ओलीले संविधान ऐन कानूनअन्तर्गत रहेर राजनीति गर्नुपर्ने बताए। उनले प्रधानमन्त्रीले संसद् मारेको तर्क दोहोर्याए। यसअघि सोमबार पनि थापाले प्रधानमन्त्रीले संसद् मारेको बहस गरेका थिए।
सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएर सोही दिन विभिन्न पदमा नियुक्तिका लागि सिफारिस गरेको प्रसंग पनि वरिष्ठ अधिवक्ता थापाले इजलासमा उठाएका थिए।
उनले यसप्रकारका नियुक्तिमा प्रश्न उठेको बताए। उनले प्रधानन्याधीश परिषद्को बैठकमा सहभागी हुँदैमा निर्णय नउल्टिने भन्ने नहुने तर्क गरे।संवैधानिक नियुक्तिका विषयमा पनि सर्वाेच्चमा मुद्दा दायर भइसकेको छ।
सरकारले अध्यादेश ल्याएकै दिन अख्तियार प्रमुखसहित ४५ पदमा नियुक्तिका लागि सिफारिस गरेकाे थियाे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।