चितवन- पुराना वामपन्थी नेता खम्बासिंह कुँवर ‘काजीबा’ को ९४ वर्षको उमेरमा मंगलबार बिहान भरतपुरमा निधन भएको छ।
मधुमेह, रक्तचाप, प्रोस्टेट लगायतका स्वास्थ्य समस्यासँग लडिरहेका कुँवरको भरतपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। उनी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सल्लाहकार थिए।
वि.सं. १९८४ वैशाख १० गते लमजुङको बाङ्ग्रे–७ मा जन्मिएर चितवन गीतानगर, केशरवागमा बसोबास गर्दै आएका कुँवरका २ छोरा र ४ छोरी छन्। उनकी श्रीमती धीराको २०७४ साल असार १० गते निधन भएको थियो।
कुँवर भारतीय सेनाको सेवा सुविधालाई छोडेर कम्युनिष्ट पार्टीमा आवद्ध भएका छन्। उनले नेपाल २०११ सालमा कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए।
त्यसपछि उनी विभिन्न कमिटीहरूमा क्रियाशील रहँदै २०३१ सालमा सम्पन्न चौंथो महाधिवेशनबाट वैकल्पिक पोलिटब्यूरो सदस्यमा निर्वाचित भएका थिए।
कुँवरलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले चितवन पुगेर अन्तिम श्रद्धाञ्जली दिएका छन्।
मंगलबार बिहान नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहालले संयुक्त रूपमा श्रद्धाञ्जली वक्तव्य जारी गरेका थिए।
उनको निधनले नेकपा र सिंगो नेपाली कम्युनिष्ट आन्दोलनले एक अथक योद्धा तथा अभिभावक गुमाएको उनीहरूले बताएका छन्।
‘कमरेड कुँवरले नेपाली सर्वहारा वर्ग, मजदुर, किसान, उत्पीडित वर्ग र समुदायको मुक्तिको लागि वर्ग संघर्षलाई अगाडि बढाउने अभियानमा महत्वपूर्ण नेतृत्वदायी भूमिका खेल्नुभएको थियो’, नेपाल-दाहालले जारी गरेको वक्तव्यमा भनिएको छ।
नेपाल-दाहालले जारी गरेको श्रद्धाञ्जली वक्तव्य:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।