काठमाडौं- प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध संघर्ष गर्दै आएको 'बृहत नागरिक आन्दोलन'ले बालुवाटारमै प्रदर्शन गर्ने भएको छ। माघ १२ गते 'बालुवाटार मार्च' कार्यक्रम तय भएको आन्दोलनका नेतृत्वकर्ता युग पाठकद्वारा जारी विज्ञप्तिमा जनाइएकाे छ।
कमलपोखरी बचाउ अभियानका अभियन्ताहरुबाट माटोको टीका लगाएर कमलपोखरीबाट बालुवाटारसम्म मार्चपास हुने विज्ञप्तिमा जनाइएको छ। मार्चमा कलात्मक प्रस्तुति पनि हुनेछन्।
'संसद्विघटन लगायत सबै प्रकारका प्रतिगमनको विरुद्ध सशक्त प्रतिकार गर्दै मुलुकलाई स्वस्थ र न्यायपूर्ण बाटोमा फर्काउने हामी सबै सचेत नागरिकको कर्तव्यबोध सडकमै प्रदर्शित हुनु आवश्यक रहेकोमा हामी जोड दिन चाहन्छौं', विज्ञप्तिमा भनिएको छ।
प्रतिगमनविरुद्ध प्रतिरोधको क्रममा माइतीघर मण्डलाका प्रदर्शनहरुपछि प्रज्ञा प्रतिष्ठानका डबलीमा आयोजित नागरिक सभाबाट बृहत नागरिक आन्दोलनले निरंकुशता, स्वेच्छाचारिता र प्रतिगमनको बिम्ब बनेको बालुवाटारलाई चुनौती दिन बालुवाटारमै प्रदर्शन गर्ने कार्यक्रमको घोषणा गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।