काठमाडौं– निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले थप एक जहाज भित्र्याएको छ। योसँगै बुद्धसँग अब १४ जहाज भएका छन्। अब बुद्ध एयरसँग २ वटा विचक्राफ्ट (१८ सिट क्षमता), ३ वटा एटिआर–४२ र ९ वटा एटिआर–७२ गरी १४ वटा जहाज छन्।
बुद्ध एयरले अहिले आन्तरिक उडानतर्फ काठमाडौंलाई बेस बनाएर भद्रपुर, विराटनगर, जनकपुर, तुम्लिङटार, राजविराज, सिमरा, भरतपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ। यसैगरी विराटनगरलाई बेस बनाएर तुम्लिङटार र पोखरलाई बेस बनाएर चितवन र भैरहवा उडान गर्दै आएको छ। योसँगै बुद्धले अन्तरप्रदेश उडानलाई पनि प्राथमिकताका साथ अघि बढाएको जनाएको छ।
केही दिनअघि मात्र दैनिक सय उडान गर्ने योजना सार्वजनिक गरेको थियो। बुद्ध एयरले ‘समय यात्रुको, उडान हाम्रो’ भन्ने नारासहित बजार विस्तारको योजना अगाडि सारेको छ।
‘अब हामी दैनिक १२ दर्जनभन्दा बढी उडान भर्ने छौं,’ बुद्ध एयरका रिजर्भेसन सिनियर एक्जुकेटिभ म्यानेजर सुवास घिमिरेले भने, ‘समय यात्रुको, उडान हाम्रो नाराका साथ हामीले नयाँ तालिका बनाएका छौं। जसबाट यात्रुले जुनसुकै समयमा पनि हवाई सेवा लिन पाउने छन्।’
घिमिरेका अनुसार बुद्ध एयरले अहिले दैनिक ५ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ। यो संख्यालाई बढाएर ६ हजार देखि ६ हजार ५ सयसम्म पुर्याउने लक्ष्य रहेको उनले बताए।
‘‘बुद्ध एयरको अकुपेन्सी ९५ प्रतिशत हाराहारीमा पुगेको छ,’ उनले भने, ‘अकुपेन्सी बढेसँगै यात्रुलाई सहजता दिन उडान तालिका बढाउन लागेका हौं। नयाँ उडान तालिका सुरु भएको केही समय ९० प्रतिशतमा अकुपेन्सी झरे पनि हामी पुनः ९५ प्रतिशतमै पुर्याउँछौं।’
बुद्ध एयरको नयाँ उडान तालिका फेब्रुअरी दोस्रो साताबाट सुरु हुने उनको भनाइ छ।
कुन गन्तव्यमा कति उडान?
बुद्ध एयरले दैनिक १ सय वटा उडान तथा अवतरण गर्ने गरी तालिका पनि तयार पारेको छ। जसअनुसार काठमाडौं–पोखरा–काठमाडौं दैनिक ९ उडान, काठमाडौं–विराटनगर–काठमाडौं ८ र काठमाडौं–भैरहवा–काठमाडौं ६ वटा उडान गर्ने भएको छ।
यसैगरी सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर ४ तथा नेपालगञ्जका लागि ३ उडान भर्ने घिमिरेले बताए। अन्य गन्तव्यहरुमा पनि यात्रुको चाप हेरि उडान विस्तार गर्ने बुद्ध एयरले जनाएको छ। बुद्ध एयरले अहिले धनगढीमा २ वटा उडान गरिरहेको छ। त्यहाँ तत्काल २ वटा नै गर्ने भएको छ।
साथै दुर्गममा पनि उडान गर्ने तयारी अगाडि सारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।