काठमाडौं- प्रहरीमाथि हातपात गर्ने पारलैंगिक समूहका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिहीबार राति साढे १० बजे बाटो हिँडिरहेका सर्वसाधारणलाई हैरानी दिएको भन्ने गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कबाट खटिएको टोलीले १३ जना पारलैंगिकहरुलाई पक्राउ गरेको थियो।
सो क्रममा उनीहरुले ड्युटीमा खटिएका प्रहरीलाई समेत हातापात गरेका थिए। प्रभागका ड्युटी अधिकृतको टेबलमा समेत उनीहरूले तोडफोड गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
सिसा तोडफोड गर्नुका साथै कोकको बोतलले समेत प्रहरीलाई उनीहरुले हानेको प्रहरीको दाबी छ।
सोही बोतलले पारलैंगिकले आफैंलाई समेत हानेर चोट पुर्याएका थिए। तोडफोडमा उत्रिएपछि स्थिति नियन्त्रणमा महानगरीय प्रहरी वृत्त महाराजगञ्ज, बालाजु र प्रभाग तिलिंगेटारबाट समेत प्रहरी परिचालन गरिएको थियो।
पक्राउ परेकाहरुलाई वृत्तहरू महाराजग, बालाजु, गौशाला र सोह्रखुट्टेमा राखिएको छ। उनीहरुविरुद्ध अभद्र व्यवहारको कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।