काठमाडौं- मौसम प्रतिकूलताका कारण पछिल्लो एक सातामा मात्रै आन्तरिकतर्फ झन्डै डेढ सय उडान रद्द भएका छन्। तराईका विमानस्थलमा हुस्सुका कारण उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको टावरले जनाकारी दिएको छ।
माघ १ गतेदेखि ७ गते बुधबारसम्ममा आन्तरिकतर्फका मात्रै १ सय ४७ वटा उडान रद्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ।
पछिल्ला केही दिनयता तराईका केही विमानस्थलमा बिहानदेखि नै उडान सुरु हुन सकेको छैन। मौसम प्रतिकुलताका कारण उडान ढिलो हुने तथा रद्द हुने भएकाले आन्तरिक विमानस्थलका टर्मिनमा यात्रुको भीडसमेत बढेको छ।
विमानस्थल टावरका अनुसार माघ १ गते बिहीबारमा लागि आन्तरिकतर्फ ८७ वटा उडान तय भएका थिए। जसमा १५ वटा उडान रद्द हुँदा ७२ वटा मात्रै उडान भएको थियो।
यसैगरी माघ २ गते शुक्रबार भने ५० प्रतिशत उडान नै रद्द भएका थिए। शुक्रबार पनि ८७ वटा उडानका लागि तालिका तय भएको थियो। तर, मौसम प्रतिकूलताका कारण ४४ वटा मात्रै उडान भएको टावरले जनाएको छ। शुक्रबार ४३ वटा उडान रद्द भएको थियो।
यसैगरी, शनिबार माघ ३ गते पनि ५० प्रतिशत मात्रै उडान भएको छ। शनिबारका लागि ८९ वटा उडान तय भएपनि मौसमका कारण ४५ वटा मात्रै उडान भएको थियो। शनिबार पनि ४४ वटा उडान रद्द भएको छ।
यसैगरी आइतबार (माघ ४ गते) तय भएका ८९ उडानमध्ये ४ वटा उडान रद्द भएका थिए। सोमबार (माघ ५ गते) ८६ उडान तय भएकोमा १ उडान रद्द भएको विमानस्थल टावरले जनाएको छ।
साथै माघ ६ गते मंगलबार भने ८३ उडान तय भएकोमा २० वटा र ७ गते बुधबार ८७ वटा उडान तय भएकोमा २० वटा नै उडान रद्द भएको विमानस्थलले जनाएको छ। अधिकांश रद्द भएका उडान तराई क्षेत्रका विमानस्थलका लागि तय भएको उडान भएको टावरको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।