काठमाडौं–निजी हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले कोभिड-१९ का कारण शिथिल भएको हवाई क्षेत्रलाई चलायमान बनाउन आक्रामक बजार विस्तारसहित उपस्थिति जनाउने भएको छ। बुद्ध एयरको यस योजनाले अन्य एयरलाइन्सलाई पनि बजार विस्तारमा तताउनेछ। बुद्ध एयरले ‘समय यात्रुको, उडान हाम्रो’ भन्ने नारासहित बजार विस्तारको योजना अगाडि सारेको छ।
यसअनुसार बुद्ध एयरले दैनिक सय वटा उडान तथा अवतरण गर्ने गरी तालिकासमेत तय गरिसकेको छ। कम्पनीले आफूसँग रहेको १३ वटा जहाजमा अर्को एउटा थप्दैछ भने काठमाडौंबाहेक विराटनगर, भैरहवा र जनकपुरबाट पनि एकाबिहानै उडान गर्ने गरी तालिका बनाइसकेको छ।
‘अब हामी दैनिक १२ दर्जनभन्दा बढी उडान भर्ने छौं,’ बुद्ध एयरका रिजर्भेसन सिनियर एक्जुकेटिभ म्यानेजर सुवास घिमिरेले भने, ‘समय यात्रुको, उडान हाम्रो नाराका साथ हामीले नयाँ तालिका बनाएका छौं। जसबाट यात्रुले जुनसुकै समयमा पनि हवाई सेवा लिन पाउने छन्।’
घिमिरेका अनुसार बुद्ध एयरले अहिले दैनिक ५ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ। यो संख्यालाई बढाएर ६ हजार देखि ६ हजार ५ सयसम्म पुर्याउने लक्ष्य रहेको उनले बताए।
‘‘बुद्ध एयरको अकुपेन्सी ९५ प्रतिशत हाराहारीमा पुगेको छ,’ उनले भने, ‘अकुपेन्सी बढेसँगै यात्रुलाई सहजता दिन उडान तालिका बढाउन लागेका हौं। नयाँ उडान तालिका सुरु भएको केही समय ९० प्रतिशतमा अकुपेन्सी झरे पनि हामी पुनः ९५ प्रतिशतमै पुर्याउँछौं।’
यात्रु हिसाबले हेर्ने हो भने बुद्ध एयर अहिले पनि नम्बर १ मा पर्न सफल छ। कोभिडको महामारी वर्ष सन् २०२० मा पनि बुद्ध एयरले १५ हजार ३ सय १० वटा उडान तथा अवतरणमार्फत् ७ लाख ६५ हजार ७ सय ८ जनालाई आन्तरिक हवाई सेवा प्रदान गरेको थियो।
सन् २०२० को कुल आन्तरिक हवाई यात्रुको ५२ दशमलब ५३ प्रतिशत यात्रुलाई बुद्ध एयरले सेवा दिएको थियो। २०२० मा कुल आन्तरिक हवाई यात्रु १४ लाख ५७ हजार ५ सय ३९ थिए। यसैगरी २०१९ मा बुद्ध एयरले १५ लाख ९१ हजार ४ सय २ यात्रुलाई हवाई सेवा दिएको थियो। जुन कुल आन्तरिक हवाई यात्रुको हिसाबमा झन्डै ५० प्रतिशत हो। २०१९ मा कुल आन्तरिक हवाई यात्रु ३१ लाख ८८ हजार ४ सय ७९ थिए।
बुद्ध एयरले कोभिड–१९ को समय सन् २०२० मा झन् आफ्नो बजार हिस्सा २ प्रतिशतभन्दा बढीले वृद्धि गरेको छ। ३–४ वर्ष अगाडिसम्म बुद्ध एयरको बजार हिस्सा ६५ प्रतिशतसम्म थियो। तर, अन्य कम्पनीहरुले पनि जहाज थप्दै बजार विस्तार गर्न थालेपछि बजार हिस्सा केही घटेको थियो। पुनः बजार हिस्सा बढाउँदै ६५ प्रतिशत सम्म पुर्याउने लक्ष्य रहेको घिमिरेले बताए।
बुद्ध एयरको नयाँ उडान तालिका फेब्रुअरी दोस्रो साताबाट सुरु हुने उनको भनाइ छ। यसका लागि एयरले थप्ने एउटा एटिआर ७२ जहाज यसै साता काठमाडौं आइपुग्ने छ। यससँगै बुद्ध एयरसँग १४ वटा जहाज हुने छ। १४ मध्ये एउटालाई तयारी अवस्थामा राख्ने र १३ वटालाई नियमित उडानमा प्रयोग गर्ने बुद्ध एयरले जनाएको छ।
तयारी अवस्थामा राखेको जहाज कुनै उडानमा रहेको जहाजमा प्राविधिक समस्या आएमा प्रयोग गर्ने बुद्ध एयरले जनाएको छ।
कुन गन्तव्यमा कति उडान?
बुद्ध एयरले दैनिक १ सय वटा उडान तथा अवतरण गर्ने गरी तालिका पनि तयार पारेको छ। जसअनुसार काठमाडौं–पोखरा–काठमाडौं दैनिक ९ उडान, काठमाडौं–विराटनगर–काठमाडौं ८ र काठमाडौं–भैरहवा–काठमाडौं ६ वटा उडान गर्ने भएको छ।
यसैगरी सिमरा, भरतपुर, भद्रपुर ५, जनकपुर ४ तथा नेपालगञ्जका लागि ३ उडान भर्ने घिमिरेले बताए। अन्य गन्तव्यहरुमा पनि यात्रुको चाप हेरि उडान विस्तार गर्ने बुद्ध एयरले जनाएको छ। बुद्ध एयरले अहिले धनगढीमा २ वटा उडान गरिरहेको छ। त्यहाँ तत्काल २ वटा नै गर्ने भएको छ।
बुद्ध एयरले अहिले भद्रपुर, विराटनगर, जनकपुर, तुम्लिङटार, राजविराज, सिमरा, भरतपुर, भैरहवा, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ।
साथै दुर्गममा पनि उडान गर्ने तयारी अगाडि सारेको छ। बुद्ध एयरसँग अहिले २ वटा विचक्राफ्ट (१८ सिट क्षमता), ३ वटा एटिआर–४२ र ८ वटा एटिआर–७२ गरी १३ वटा जहाज छन्। ती सबै उडानमा रहेका छन्।
‘नयाँ उडान योजनामा यात्रुले आफूखुसी अनुकुल समयमा यात्रा गर्न सक्छन्। अझ कर्पोरेट बिजनेश सेक्टरका यात्रुहरु एकै दिनमा विभिन्न गन्तव्य आउजाउ गर्नसक्नेछन्,’ उनले भने। थपिएको जहाजबाट कम्पनीलाई नियमित विमान मर्मतसम्भार गर्न थप सजिलो हुने घिमिरेले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।