काठमाडौं–कोरोना महामारीमा पनि नेपाल एयरलाइन्सले पौने ३ लाख यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार नेपाल एयरलाइन्सले २०२० मा २ लाख ७३ हजार ९ सय ५ यात्रुलाई हवाई सेवा दिएको हाे। उक्त अवधिमा नेपाल एयरलाइन्सले कुल १ हजार ८ सय ६२ वटा उडान तथा अवतरण गरेको छ। जसमा प्रस्थानतर्फ ९ सय ३४ र आगमनतर्फ ९ सय २८ वटा उडान रहेका छन्।
सन् २०२० कै अवधिमा नेपाल एयरलाइन्समार्फत् बाहिरिने यात्रुको संख्या यात्रु १ लाख १३ हजार ७० रहेको छ भने नेपाल प्रवेश गर्नेको संख्या १ लाख ६० हजार ८ सय ३५ रहेको विमानस्थल कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत् कुल ११ लाख ५ हजार ३ सय २६ जनाले हवाई सेवा लिएका छन्। यो संख्याका आधारमा नेपाल एयरलाइन्सको यात्रु बजार हिसा झन्डै २५ प्रतिशत हो।
कोरोना महामारी सुरु भएसँगै अधिकांश देशले हवाई उडान बन्द गरेकामा नेपालले पनि २०७६ चैतदेखि व्यावसयिक उडान बन्द गरेको थियो। झन्डै ५ महिनासम्म उडान बन्द भएको थियो। यद्यपि उक्त अवधिमा उद्धार तथा चार्टर उडान भने भइरहेको थियो। कोरोनाकै कारण बन्द भएको अन्तर्राष्ट्रिय उडान अझै पूर्ण रुपमा सञ्चालनमा आइसकेको छैन।
कोरोना अगाडिसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ८० वटा सम्म उडान तथा अवतरण हुने गरेको थियो। तर, अहिले दैनिक मुस्किलले २० देखि २५ वटा मात्रै उडान तथा अवतरण भइरहेका छन्।
अन्तर्राष्ट्रिय हवाई यात्रु ७४ प्रतिशतले घटे
कोरोनाअघि अन्तर्राष्ट्रिय हवाई यात्रु निरन्तर रुपमा बढिरहे पनि सन् २०२० मा भने उल्लेख्य रुपमा गिरावट आएको छ। २०१९ को तुलनामा २०२० मा हवाई यात्रुको संख्या ७४ प्रतिशतले कमी आएको विमानस्थल कार्यालयले जनाएको छ।
२०१९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै हवाई यात्रा गर्ने यात्रुको संख्या ४१ लाख ३८ हजार ५ सय ६३ थियो। यो संख्या सन् २०२० मा घटेर ११ लाख ५ हजार ३ सय २६ भएको छ।
यसैगरी उडान तथा अवतरणको संख्यामा पनि उल्लेख्य कमी आएको छ। सन् २०१९ मा कुल ३२ हजार ४ सय २९ वटा उडान तथा अवतरण भएका थिए भने सन् २०२० मा यो संख्या घटेर १० हजार २ सय ४७ भएको छ।
पहिलो नम्बरमा नेपाल एयरलाइन्स
यात्रु संख्याको हिसाबमा सन् २०२० मा नेपाल एयरलाइन्स पहिलो नम्बरमा पर्न सफल भएको छ। २०२० को कुल यात्रु संख्या ११ लाख ५ हजार ३ सय २६ रहेकोमा २४ प्रतिशत अर्थात् २ लाख ७३ हजार ९ सय ५ जनालाई नेपाल एयरलाइन्सले हवाई सेवा दिएको छ।
सन् २०२० मा नेपाल एयरलाइन्सले कुल १ हजार ८ सय ६२ वटा उडान तथा अवतरण गरेको थियो। तिनमा नेपालबाट बाहिरिने यात्रुको संख्या १ लाख १३ हजार ७० हजार र भित्रिएका यात्रु १ लाख ६० हजार ८ सय ३५ थिए।
यसैगरी यात्रु संख्याको हिसाबमा दोस्रो बजार हिसा ओगट्न सफल एयरलाइन्स कतार एयरवेज भएको छ। कतार एयरवेजले कुल ९ सय ४० वटा उडान तथा अवतरणमार्फत १ लाख ५० हजार ९ सय ९२ यात्रुलाई अन्तर्राष्ट्रिय हवाई सेवा दिएको छ।
तेस्रो स्थानमा हिमालय एयरलाइन्स परेको छ। उक्त एयरलाइन्सले १ हजार ३ सय ४० वटा उडान तथा अवतरणमार्फत ९० हजार ४४ जनालाई सेवा दिएको छ। चौथोमा रहेको फ्लाई दुबईले ७२ हजार ४ सय २२ जना, पाँचौं स्थानमा रहेको एयर अरेबियाले ६८ हजार २ सय ६८ र छैटौं स्थानमा रहेको इन्डिगोले ४६ हजार ९ सय २६ जनालाई सेवा दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।